सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • फिल्म सिटी : धुलिखेल–८ मा १३ सय रोपनी क्षेत्रमा निर्माणाधीन, बोर्ड अध्यक्ष डीसीसहित प्राविधिक टोलीको स्थलगत अवलोकन

फिल्म सिटी : धुलिखेल–८ मा १३ सय रोपनी क्षेत्रमा निर्माणाधीन, बोर्ड अध्यक्ष डीसीसहित प्राविधिक टोलीको स्थलगत अवलोकन

485
Shares
फिल्म सिटी : धुलिखेल–८ मा १३ सय रोपनी क्षेत्रमा निर्माणाधीन, बोर्ड अध्यक्ष डीसीसहित प्राविधिक टोलीको स्थलगत अवलोकन

काभ्रे । धुलिखेल नगरपालिका–८ कटुवा पाखास्थित करिब १३ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन “फिल्म सिटी” को स्थलगत निरीक्षण आज चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी नेतृत्वको प्राविधिक टोलीले गरेको छ ।

नेपालमा पहिलोपटक वातावरणमैत्री र आउटडोर फिल्म स्टुडियोसहितको फिल्म सिटी निर्माण हुन लागेको यस परियोजनालाई चलचित्र क्षेत्रसँगै रोजगारी, पर्यटन र स्थानिक विकासमा एउटा दीर्घकालीन उपलब्धिको रूपमा लिइएको छ।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष डीसीले “फिल्म सिटी अब सपना मात्र होइन, कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ” भन्दै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली फिल्म उद्योगको पहिचान उचो बनाउने बताउनुभयो ।“धुलिखेल नगरको पहल, फिल्म विकास बोर्डको संकल्प र स्थानीयको साथमा यो परियोजना छिट्टै निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने हाम्रो लक्ष्य छ ।”

नगरपालिकाको प्रारम्भिक सहमति र भूमिस्थलको उपलब्धता:- धुलिखेल नगरपालिकाले वडा नं ८ को कटुवा पाखास्थित झण्डै १३ सय रोपनी क्षेत्र फिल्म सिटी निर्माणका लागि उपलब्ध गराएको छ । सोही क्षेत्रको सम्भाव्यता मूल्याङ्कन, प्राविधिक परीक्षण तथा आधारभूत संरचनाको खाका निर्माण सुरु गरिएको जानकारी गराइएको छ ।

नगरपालिका र चलचित्र विकास बोर्डबीच प्रारम्भिक समझदारीपत्र (MoU) भइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (DPR) निर्माणको तयारी भइरहेको छ ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवालाले फिल्म सिटी निर्माणलाई स्वागत गरेका छन् । परियोजनाबाट उत्पन्न रोजगारी, पूर्वाधार र पर्यटन विकासले स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् । फिल्म सिटी निर्माणसँगै धुलिखेललाई सिर्जनात्मकता, संस्कृति र प्रविधिको संगम बनाई लैजाने लक्ष्य राखिएको छ ।

485
Shares

ट्रेन्डिङ