काभ्रेपलाञ्चोक । बाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा आज (भदौ ९) तिज बनेपा महोत्सव–२०८२ भव्य रूपमा उद्घाटन गरिएको छ। बनेपा नगरपालिका–८ स्थित सुमंगल शान्तिनगर क्षेत्रमा सञ्चालन हुने महोत्सव भदौ ९ देखि २२ गतेसम्म चल्नेछ।

मन्त्री बादेले महोत्सवले व्यापारीक पक्षसँगै सांस्कृतिक र धार्मिक पहिचानलाई उजागर गर्दै बनेपाको उचाइ थप गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले महोत्सव सफलताको शुभकामना दिंदै यसले स्थानीय पर्यटन र आर्थिक गतिविधिलाई मजबुत बनाउने बताउनु भयो ।
सुमंगल शान्तिनगर टोल विकास संस्थाको आयोजनामा भइरहेको महोत्सवमा करिब सय स्टल राखिएका छन्, जसमा दैनिक उपभोग्य सामग्री, कृषि तथा घरेलु उत्पादन, हस्तकला, आधुनिक व्यवसायिक वस्तु, पर्यटनसम्बन्धी सामग्री र स्थानीय उत्पादन प्रदर्शन तथा बिक्री गरिँदैछ।


महोत्सव अवधिभर हरेक दिन तीज गीत, नृत्य, आधुनिक र पारम्परिक संगीत प्रस्तुति, वाद्यवादन र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन्। साथै, महिलाको महान पर्व हरितालिका तीजको महत्वबारे सचेतनामूलक सन्देश प्रवाह गर्ने विभिन्न गतिविधिहरू पनि हुनेछन्।

आयोजक समिति अध्यक्ष दिपक प्रधानका अनुसार महोत्सव केवल मनोरञ्जन मात्र नभई आर्थिक गतिविधि बढाउने माध्यम पनि हो। उनका अनुसार यसले बनेपाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचानलाई सुदृढ पार्दै पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजार दिनेछ।

प्रवेश शुल्क विद्यार्थीका लागि रू. ५० र सर्वसाधारणका लागि रू. ७० तोकिएको छ। आयोजकले सम्पूर्ण नगरवासी, जिल्लावासी र बाहिरका पाहुनालाई महोत्सवमा सहभागी भई स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धनमा हातेमालो गर्न आग्रह गरेको छ।