१५ ,भदौ, बनेपा : पनौती नगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ”प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” बाट रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ।
नगर प्रमुख रामशरण भण्डारीले विसं २०८१ असोजको दोस्रो सातामा पनौती नगरपालिकाले समेत बाढी तथा पहिरोको पीडा भोगेकाले अहिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अवस्थालाई मध्यनजर गर्दै सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो।“२०८१ असोजको दोस्रो सातामा हामीले पनि बाढी तथा पहिरोको पीडा भोगेका थियौँ। अहिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको पीडालाई मध्यनजर गर्दै सहयोग गर्ने निर्णय गरेका हौँ,” नगर प्रमुख भण्डारीले बताउनुभयो।
विपदको समयमा पीडित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय तहले समेत आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको उहाँले बताउनुभयो।नगर प्रमुख भण्डारीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारका सबै तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।उहाँले पनौतीले विगतमा भोगेको विपद्को पीडा सम्झिँदै अहिले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयो।



