सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नागरिक संगठनहरू डरबाट मुक्त हुनुपर्नेमा जोड

नागरिक संगठनहरू डरबाट मुक्त हुनुपर्नेमा जोड

5110
Shares
नागरिक संगठनहरू डरबाट मुक्त हुनुपर्नेमा जोड

काभ्रे, माघ १६ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मंगलबार धुलिखेलमा पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती विषयमा एक छलफल कार्यक्रम सम्पन्न भयो । गैसस महासंघका केन्द्रीय कोषाध्यक्ष जितराम लामाले पहिले गैससहरू क्षमता विकासको चरणमा भए पनि अवका दिनमा नीति निर्माणका तहमा जुट्नुपर्ने बताए । उनले स्थानीय तहसँग सहकार्य गरी स्थानीय संस्थाहरूसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

मानवअधिकार संजालका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले गैरसरकारी संस्था नभनेर नागरिक संगठन भन्नुपर्नेमा जोड दिँदै नागरिक संगठनहरू डरबाट मुक्त हुनुपर्ने बताए । उनले भने ‘जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकाले गैसस भनियो तर त्यही संस्था निर्वाचन आयोगमा दर्ता गरेमा राजनीतिक दल हुने भएकाले नागरिकको संगठित हुने अधिकारलाई हेलचेक्याई गर्न भएन ।’ मानवअधिकार एलाइन्सकै केन्द्रीय प्रतिनिधि विदुर सुवेदीले कहिलेकाँही नागरिक संगठन र कहिले सरकार पनि आफ्नो भूमिकामा अलमलमा पर्ने गरेकाले संगठित हुने अधिकारमा अंकुश लगाउन नहुने बताए ।

इन्सेकका जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका जिल्ला अध्यक्ष पदम दुलालले वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ऐन, नियमावली पनि गैससमैत्री हुनुपर्नेमा जोड दिँदै विभिन्न बहानामा नागरिक संगठनहरूलाई सरकारले दुःख दिँदै आएको उल्लेख गरे ।

छलफल कार्यक्रममा स्थानीय तहको विकासमा नागरिक समाजको भूमिका, स्थानीय सरकार र नागरिक समाजबीचको सम्वन्ध, नागरिक समाजका चुनौती समाधान गर्ने रणनीति र उपायका विषयमा समूह छलफल भएको थियो । छलफल कार्यक्रममा विभिन्न मानवअधिकार संस्था, गैसस, सरकारी निकायका प्रतिनिधि, पत्रकार, कानुन व्यवसायी र कर्मचारी लगायतको सहभागिता थियो ।

 

5110
Shares

ट्रेन्डिङ