धुलिखेल, २२ जेठः अन्य अस्पतालबाट आएको भन्दै गाडीमै सामान्य हेरेर गर्भवती महिलालाई घर फर्काएको धुलिखेल अस्पतालले अन्ततः भर्ना गरेको छ । त्यो पनि वडाध्यक्ष देव प्रसाद कोइरालाले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर प्रमुख नरेन्द्र कुमार झालाई फोन गरेपछि । त्यसपछि धुलिखेल अस्पतालले भर्ना लिएको हो ।
धुलिखेल नगरपालिका वडा नम्बर २ का २० बर्षीय गर्भवती महिलालाई आज बिहानै सुत्केरी ब्यथाले सतायो । सुत्केरी ब्यथाले च्यापेपछि ती महिला बनेपा स्थित शीर मेमोरियल अस्पताल पुगेकी थिइन । उनले नियमित गर्भ जाँच गराउँदै आएको अस्पताल पनि शीर नै थियो ।
अस्पतालले गेटबाटै फर्काएको उनका आफन्तहरुले बताएका छन् । तर अस्पतालका कम्युनिष्टि सर्भिसेज म्यानेजर पुकार श्रेष्ठले भने ओपिडी खुल्ने समय नभएको र इर्मेजेन्सी वार्ड सरसफाई गर्न लागिएको भएर त्यस्तो अवस्था आएको हुन सक्ने बताए । इर्मेजेन्सीमा रहेका एक बिरामीमा आरडिटी गर्दा पोजेटिभ देखिएपछि इर्मेजेन्सी वार्डमा बिरामी राखिएको छैन ।
त्यसपछि धुलिखेल अस्पताल आएका उनलाई धुलिखेल अस्पतालले पनि भर्ना नगरी घर फर्काइदिएको थियो । गर्भवती महिलाले शीर मेमोरियल अस्पतालमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन् ।
धुलिखेल अस्पतालले शीरका कुनै पनि डाक्टरको सिफारिस बिनाको बिरामी लिन नसक्ने भन्दै घर फर्कादिएको थियो । एम्बुलेन्स समेत नभएको अवस्थामा गर्भवती महिलालाई नीजि गाडीमै दुई अस्पतालले ओहोर दोहोर गर्न लगाए ।
धुलिखेल अस्पतालका डाक्टर रमेश माकाजुले अस्पतालको स्त्री रोग विभागको आन्तरिक नियम अनुसार बिरामीलाई फर्काएको बताए । अस्पतालको नियममा ३५ हप्ता नाघेका र नियमित गर्भजाँच अन्य अस्पतालमा गराइरहेका बिरामी नहेर्ने उल्लेख छ ।
त्यसैलाई आधार बनाएर उपचार नगरेको डाक्टर माकाजुले बताए । ‘सबैभन्दा मुख्य कुरा शीरले आफ्नो नियमित चेक जाँच गर्न आउने बिरामीलाई किन उपचार नगरी फर्कायो भन्ने हो, डाक्टर माकाजुले भने ‘अन्य अस्पतालमा चेकजाँच गराइरहेका बिरामीका बारे नयाँ अस्पतालका डाक्टरलाई थाहा हुदँैन, यस्तो बेला धेरै जोखिम मोल्नु पर्ने हुन्छ, तर पनि हामीले भर्ना गरेका छाँै ।’