काभ्रे, ४ जेठः इलाका प्रहरी कार्यालय बनेपालले हार्डवेयर पसल चोरी गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बनेपाको तेण्डल हार्डवेयरको काउन्टर फोरेर नगद चोरी गर्नेलाई बिहिबार सार्वजनिक गरेको हो ।
हार्डवेयर चोरी गर्ने चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं १ का २७ बर्षीय प्रकाश जंग कुँवर रहेका छन् । कुँवरको साथबाट १ लाख ५० हजार रुपैपाँ समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमूख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । कुँवर बुधबार पक्राउ परेका थिए ।
कुँवरले जेठ २८ गते राति दश बजेतिर हार्डवेयरको काउन्टरमा रहेको ९ लाख ४ हजार २७५ रुपैयाँ चोरि गरेको भन्दै हार्डवेयर सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए । कुँवरलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ डाँडाटोल स्थित साडु दाईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इनिस्पेक्टर तिमिल्सिनाले बताए ।
हार्डवेयरको पूर्वपट्टी रहेको गेटबाट उनी भित्र छिरेको अनुसन्धानबाट खुलेको छ । ‘गेटको भूईमा रहेको मोटो पन्छाएर हार्डवेयर पसलभित्र प्रवेश गरेको पाइयो, इनिस्पेक्टर तिमिल्सिनाले भने ‘थप अनुसन्धान भइरहेको छ ।’
अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट दश दिनको म्याद थप भइसकेको छ । बनेपामा चोरी गरिसकेपछि उनीले काठमाण्डौमा गएर किनमेल गरेको अनुन्धानबाट खुलेको छ । कुँवरका साथबाट नयाँ मोबाइलसेट समेत प्रहरीले बरामद गरेको छ ।