सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका ८ वटा स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, २ वटाको अनिश्चित

काभ्रेका ८ वटा स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, २ वटाको अनिश्चित

३ वटाको नीति तथा कार्यक्रम मात्रै

8210
Shares
काभ्रेका ८ वटा स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, २ वटाको अनिश्चित

धुलिखेल, १० असारः काभ्रेमा १३ वटा स्थानीय तह छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने बाध्यकारी प्रावधान छ । जिल्लाको ८ स्थानीय तह नीति र कार्यक्रम सहितको बजेट ल्याएका छन् । ३ वटा स्थानीय तहले नीति तथा कार्यक्रममात्रै ल्याएका छन् भने २ वटा स्थानीय तहहरुले अन्तिम कसरत गरिरहेको बताएका छन् ।

बनेपाको बजेट १ अर्ब १५ करोड
काभ्रे जिल्लाको पहिलो नगरपालिका बनेपाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज बसेको नगरसभामा उपप्रमुख रेखा दाहाल सापकोटाले १ अर्ब, १५ करोड, ७१ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि पूजीगत तर्फ ६० करोड ७२ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै संघीयको सरकारको ससर्त अनुदान तर्फ २९ करोड २८ लाख, प्रदेश सरकारकाको ससर्त अनुदान १ करोड ८२ लाख ४ हजारको बजेट प्रस्तुत गरिएको छ । त्यस्तै नगरपालिका तर्फ २३ करोड ८१ लख २६ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ ।

धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज बसेको ७ औँ नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जुले चालू खर्च तर्फ ५१ करोड ४ लाख ४० हजार र पूजीगत तर्फ ६० करोड ६ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरेको जानकारी दिनुभयो ।

नगरसभामा उपप्रमुख बिमला शर्माले नगरपालिकाको प्रगति, आगामी कार्यक्रम र नीति प्रस्तुत गर्नुको थियो ।

पनौतीको बजेट १ अर्ब ३२ करोड
काभ्रेको पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३२ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आज बसेको ७ औँ नगरसभामा उपप्रमुख गिता बञ्जाराले बजेटको प्रस्ताव गर्नुभएको हो ।

नगरसभामा प्रमुख भिमप्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । भोली बस्ने नगरसभामा आज प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा बजेट निर्णयार्थ पेश गरिने नगरपालिकाले जनाएको छ ।

मण्डनदेउपुरमा ९२ करोड
काभ्रेको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपप्रमुख निर्मला शाहिले ७ औँ नगरसभामा ९२ करोड २५ लाख ७९ हजार ७५१ को निति कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएकाे हाे ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख टोक बहादुर वाइबाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको छ । विगतका वर्ष देखि नै शिक्षा उच्च प्राथमिकतामा राखेको नगरपालिकाले यो वर्ष पनि उत्तिकै प्राथमिकता दिएको छ । त्यस्तै कृषि, पशु र पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको प्रवक्ता डिल्ली आचार्यले जानकारी दिनुभयो ।

रोशीको बजेट ५८ करोड, ९९ लाख
काभ्रेको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज भएको ७ औँ गाउँसभामा उपप्रमुख लक्ष्मी बर्तौलाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट प्रस्तुत गर्नु भएको हो ।

सभामा पालिका अध्यक्ष डिबी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको छ ।

खानीखोलाको बजेट ४२ करोड ९५ लाख
काभ्रेको विकट क्षेत्रमा पर्ने खानिखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि ४२ करोड ९५ लाख ३५ हजार १ सय ७० रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आज सम्पन्न भएको ७ सातौ गाउँसभामा पालिका उपाध्यक्ष रुक्मणी गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो । यही बजेट अन्र्तगत आगामी आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगार कार्यक्रमहरु गरिने अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनुभयो ।

कोशीपारीको दुबै पालिकाले ल्याए बजेट
काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले पनि आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । पालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाईले आज ७ औँ नगरसभामा ४७ करोडको बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य, कृषि र पुराना योजनाहरुलाई निरन्तरता दिइने उपाध्यक्ष चौलागाईले बताउनुभयो । यसैबीच कोशीपारी क्षेत्रमै रहेको भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजार बजेट प्रस्तुत गरेको छ ।

आज भएको ७ साताैँ गाउँ सभामा पालिका प्रमुख गुमानध्वज कुँवरले नीति, कार्यक्रम तथा बजेट पेश गर्नुभएको हो । असार ३० गते भित्र बजेट पास गरिसक्ने अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।

आउनबाँकी
डाँडापारी क्षेत्रमै रहेको महाभारत गाउँले पनि आजै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । तर यो समाचार तयार पार्दा सम्म सार्वजनिक भने भएको छैन । चालु आर्थिक बर्ष ३० करोड ३२ लाख बजेट ल्याएको पालिकाले आगामी आर्थिक वर्षका लागि ४० करोडको बजेट ल्याउने गरी तयारी थालिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिनुभयो । प्रस्तुत नीति, कार्यक्रम र बजेट १६ गते बस्ने नगरसभाले पारित गर्नेछ । त्यस्तै तेमाल गाउँपालिकाले पनि आजै नीति, कार्यक्रम तथा बजेट ल्याउने अन्तिम कसरत गरिरहेको छ ।

नीति तथा कार्यक्रम मात्रै पेश


काभ्रेको पाँचखाल नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै पेश गरेको छ । यसअघिका बर्षहरुमा नीति, कार्यक्रम र बजेट एकै पटक ल्याउने गरेको नगरपालिकाले यसपटक भने बजेट केहि दिन पछि मात्रै ल्याउने प्रवक्ता सञ्जय तामाङले बताउनुभयो । त्यस्तै नमोबुद्ध नगरपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै आज नगरसभामा पेश गरेको छ ।

नीति तथा कार्यक्रममा वृहत छलफल पछि मात्रै बजेट ल्याइने प्रवक्ता सञ्जिव ढकालले जानकारी दिनुभयो । बेथानचोक गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै ल्याएको छ । नीति तथा कार्यक्रमको छलफल सकिएपछि मात्रै बजेट ल्याउने पालिकाले जनाएको छ ।

8210
Shares

ट्रेन्डिङ