सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य, अर्थमन्त्री खतिवडाको पद धरापमा

ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य, अर्थमन्त्री खतिवडाको पद धरापमा

4365
Shares
ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य, अर्थमन्त्री खतिवडाको पद धरापमा

काठमाडौं – ‘हुन्छ र हुँदैन’को लामै फन्को मारेर अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान राख्दै आएका थिए।

अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका बहुमत नेता गौतमका पक्षमा लबिङ गरिरहेका थिए। त्यसैले बिहीबारको बैठकमा गतिलै वैचारिक झडप हुने आकलन गरिएको थियो। तर, स्वयं प्रधानमन्त्री ओलीले गौतमको नाम घोषणा गरिदिए।

गौतमलाई राष्ट्रिय सभा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो। लगत्तै प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए। त्यसले सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको थियो। प्रधानमन्त्रीले खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष दाहाल, उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेका थिए। उनीहरू नमानेपछि आफैंले गौतमको प्रस्ताव ल्याएका थिए।

‘केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिवाट मनोनीत गरिने राष्ट्रिय सभा को रिक्त एक पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि सिफारिस गर्ने क्रममा सरकार पुगेको जानकारी प्रधानमन्त्रीले गराउनुभयो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ओलीको संकट टार्न गौतमले बेलाबेला यसबीच महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैले पनि उनलाई चिढ्याउने पक्षमा प्रधानमन्त्री थिएनन्।

गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएका थिए। नेकपाको ९ सदस्यीय सचिवालयमा उनी एक्लै सांसद थिएनन्। अब सबै हुने भएका छन्। प्रतिनिधिसभा चुनावमा पराजित श्रेष्ठ भने यस अगाडि नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन्।

गौतमको राष्ट्रिय सभा प्रवेशसँगै अर्थमन्त्री डा. खतिवडाको पद भने धरापमा परेको छ। अब उनको पद २१ भदौको मध्यरात १२ बजेसम्मका लागि मात्र छ। स्रोतका अनुसार शुक्रबार ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्नेछ। त्यहीँ खतिवडाको बिदाइ हुने सम्भावना छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

4365
Shares

ट्रेन्डिङ