सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नमोबुद्धमा केन्द्रीयस्तरको ‘युथ इनोभेसन सेन्टर’को काम सुरु

नमोबुद्धमा केन्द्रीयस्तरको ‘युथ इनोभेसन सेन्टर’को काम सुरु

6835
Shares
नमोबुद्धमा केन्द्रीयस्तरको ‘युथ इनोभेसन सेन्टर’को काम सुरु

काभ्रे । काभ्रेको नमोबुद्धमा स्थापना हुन लागेको नेसनल युथ इनोभेसन इन्क्युबेसन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेसन केन्द्र) को काम सुरु भएको छ । राष्ट्रिय युवा परिषदको संयोजनमा नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको समन्वयमा केन्द्र स्थापना हुन लागेको हो । नमोबुद्ध नगरपालिका ८ आरुबारीचौरमा स्थापना हुने केन्द्रका विषयमा आज स्थानीयबासीसँग छलफल गरिएको छ ।

आजको छलफलसँगै केन्द्रको काम सुरु गरिएको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले बताउनुभयो । छलफलमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, आइडिया स्टुडियोका संस्थापक एवं काठमाडौं विश्वविद्यालय उपकुलपति कार्यालयका सल्लाहकार छिरिङ लामा लगायत सहभागी हुनुहुन्थ्यो ।

छलफलको क्रममा स्थानीयबासी एवं तत्कालिन गाविस अध्यक्ष उद्धवप्रसाद हुमागाईंले केन्द्र स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै स्थानीयबासीको पुर्ण सहयोग हुने बताउनुभयो । केन्द्र स्थापनापछि स्थानीय युवाहरुले आफ्नो दक्षता र सीप यहीँ प्रयोग गर्न पाउने र युवाहरु विदेशिने क्रम रोकिने अपेक्षा रहेको बताउनुभयो । केन्द्रका लागि नगरपालिकाले उपलव्ध गराएको बाहेक आफूहरुको जग्गासमेत इनोभेसनका लागि दिन तयार रहेको उहाँले बताउनुभयो ।

केन्द्र स्थापनाका लागि नगरपालिकाले करिब ५२ रोपनी जग्गा उपलव्ध गराएको छ । छलफलको क्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले देशभरिका दश हजार उत्कृष्ट नयाँ सोच र योजनामध्येबाट बार्षिक एक सय वटा योजनालाई केन्द्रमार्फत अन्तिम रुप दिएर आर्थिक समृद्धिका लागि प्रयोग गर्ने बताउनुभयो ।

यो आर्थिक बर्षमा योजना निर्माण लगायतको काम सक्ने र आगामी बर्षबाट भौतिक निर्माणको काम अघि बढाउने ढुंगेलले बताउनुभयो । यसै बर्षबाट युवाहरु छनोटसहित नवप्रवर्तनको काम पनि अघि बढ्ने उहाँले बताउनुभयो । ढुंगेलले केन्द्र स्थापना गर्दा प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरिने भन्दै विकाससँगै विनास आउँछ भन्ने चिन्ता नलिन स्थानीयबासीलाई अनुरोध गर्नुभयो । ‘यहाँ भएकै स्थानीय उत्पादन, वन, जमिन, धार्मिक सम्पदानै नवप्रवर्तनको क्षेत्र हो’ ढुंगेलले भन्नुभयो ।

छलफलमा आइडिया स्टुडियोका संस्थापक छिरिङ लामाले स्थानीयबासीको अभिभावकत्वमै केन्द्रको काम अघि बढ्ने बताउनुभयो । स्थानीय उत्पादनदेखि सम्पदासम्म अनुसन्धान र नवप्रवर्तनको केन्द्र बन्ने उहाँले बताउनुभयो । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले केन्द्रको काम सुरु भएकोमा खुशी व्यक्त गर्दै नवप्रवर्तन केन्द्रले समग्र नगरपालिकाको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

युवा विकासका निम्ति नगरपालिकाले अन्य संघसंस्था र निकायसँगको साझेदारीमा रोजगारी प्रवद्र्धन, उद्यमशिलता विकास लगायतका क्षेत्रमा लगानी गर्ने तिमल्सिनाले बताउनुभयो । नवप्रवर्तन केन्द्रलाई राष्ट्रिय राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने तयारी भइरहेको छ ।

केन्द्रमा नविनतम सोच भएका सिर्जनसिल युवाहरुले आफ्नो सोचलाई परिस्कृत गरेर उत्पादनसँग जोड्न सक्नेछन् । नेपालमै पहिलोपटक स्थापना भएको यो केन्द्रमार्फत युवाहरुको नविनतम सोचमार्फत मुलुकको समृद्धिलाई महत्वपुर्ण योगदान दिने विश्वास गरिएको छ । नवप्रवर्तन केन्द्रले आर्थिक समृद्धिका साथै सामाजिक, सांस्कृतिक एवं वातावरणीय सम्पदाको संरक्षणमा उदाहयरणीय कार्य गर्ने नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले बताउनुभयो ।

6835
Shares

ट्रेन्डिङ