सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना उपचारको नाममा अस्पतालको लुट, वृद्धाबाट लाखौं असुली

कोरोना उपचारको नाममा अस्पतालको लुट, वृद्धाबाट लाखौं असुली

6145
Shares
कोरोना उपचारको नाममा अस्पतालको लुट, वृद्धाबाट लाखौं असुली

सोलुखुम्बु : कोरोना संक्रमितको उपचारको नाममा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एन्ड रिसर्च सेन्टरले लाखौं रकम लिएको बिरामीका आफन्तले गुनासो गरेका छन्। सोलुदुधकुण्ड नगरपालिका निवासी ६४ वर्षीया हम्पुली (हम्बु) तामाङबाट उक्त अस्पतालले उपचार शुल्क भन्दै ५ लाख ३८ हजार ५८५ रुपैया लिएको उनका छोरा पिटी चोप्चनले गुनासो गरे।

यस्तै संक्रमितको उपचारबापत सरकारले दिने अनुदान रकम लिन अस्पतालले त्यही बिल स्वास्थ्य मन्त्रालयमा समेत पेस गरेको पाइएको लोप्चनले बताए । सोही कारण मंसिर २६ गते अस्पतालविरुद्ध प्रमाणसहित स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको उनको भनाइ छ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ६ गते अस्पताल भर्ना भएकी हम्बु १८ दिनपछि मंसिर २४ गते डिस्चार्ज भएकी थिइन्। ‘मेरो आमा ३० वर्षदेखि एकल महिलाको रुपमा जीवन बिताइरहनुभएको छ,’ लोप्चनले भने, ‘सरकारले गत असोज १९ मा जारी गरेको कोरोना उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी (दोस्रो संशोधन) आदेश २०७७ विपरीत अस्पतालले रकम असुल्न भ्यायो।’

त्यस आदेशमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको उपचार निःशुल्क गर्ने व्यवस्था छ। कान्तिपुर कोरोना अस्पतालका रूपमा पनि सूचीकृत छ। यस्ता अस्पतालले संक्रमितको उपचारबापत कुनै पनि शुल्क लिन नपाउने व्यवस्था छ।

संक्रमितको उपचारमा लागेको खर्च सरकारले अनुदानबापत अस्पताललाई उपलब्ध गराउने व्यवस्था भए पनि त्यसलाई लत्याउँदै सोझासीधा नागरिक ठग्ने धन्दामा लाग्नु दुखद् भएको लोप्चनको भनावइ छ। ‘मन्त्रालयले गरेको निर्णयबारे जानकारी गराउँदा समेत त्यसको कुनै वास्ता नगरी लाखौं असुलेपछि प्रमाणसति मंसिर २६ मा उजुरी दिएँ,’ लोप्चनले भने, ‘औषधिको नाममा मात्रै एक लाखभन्दा बढीको बिल उठाएको छ, तर मेरो आमालाई के कस्तो औषधि चलायो हामीले चाहिँ देखेनौं।’

डिस्चार्ज भएर आउँदा चिकित्सकहरूले अस्पतालमा चलाएका सात प्रकारका औषधि दिएको उनको भनाइ छ । तर ती औषधिको मूल्य एक पत्ताको ८० रुपैयाँ सम्म मात्र पर्ने भए पनि एक लाखको बिल उठाएको उनको दाबी छ।

अस्पतालले गरेको पिसिआर रिपोर्टसमेत शंकास्पद भएकाले छानबिन हुनुपर्ने लोप्चनको माग छ। कानुनी रुपमा बढ्ने बताएपछि अस्पतालले बन्द कोठमा राखेर आफूलाई प्रभावित पार्न खोजेको उनको भनाइ छ।

लोप्चनको उजुरीमाथि कार्वाही गर्दै मन्त्रालयले हम्बुको पिसिआर परीक्षण गरिएको मिति, पोजिटिभ–नेगेटिभ आएको मिति, बिरामीले तिरेको रकम र ती बिरामीको उपचार गरेबापत अस्पतालले मन्त्रालयसँग अनुदान माग गरे–नगरेको विवरण २४ घण्टा भित्र पेस गर्न भनेको छ।

अस्पतालका म्यानेजर डा. समीर मैनालीले भने अतिरिक्त सेवा बापतको शुल्क लिएको बताए। उनले कोरोना उपचारबापतको कुनै पनि शुल्क नलिई अतिरिक्त शुल्क लिन पाउने राज्यको नीतिअनुसार नै लिएको भन्दै आफूहरुको कमजोरी नरहेको दाबी गरे।

अतिरिक्त शुल्क लिने विषयमा बिरामी भर्ना गर्नुपूर्व नै हस्ताक्षर गराउने गरेको उनले बताए। छ। तर यता बिरामीका आफन्तले भने कुनै पनि कागजातमा हस्ताक्षर नगराएको बताएका छन्।

लोप्चनले आफू सञ्चारकर्मी भएको र सरकारी नीतिबारे प्रस्ट भएको जानकारी गराउँदा समेत वास्ता नगरेको बताए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले अस्पतालविरुद्धमा उजुरी परेको भन्दै त्यस्तो किन के कसरी भएको भन्नेबारे बुझ्ने क्रममा रहेको बताए। उनले नेपाल सरकारसँग सम्झौता गरेका अस्पतालले शुल्क लिन नपाउने व्यवस्था भएकाले के कसरी त्यस्तो भएको हो भन्ने विषयमा अस्पतालले प्रस्ट पार्नुपर्ने बताए।

थाहा खबर बाट

6145
Shares

ट्रेन्डिङ