सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप

अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप

12835
Shares
अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप

काठमाडौं, माघ ३०ः कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको हो । सो अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ । यसअघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप लगाइसकिएको छ । अब भने कर्मचारी, जनप्रतिनिधि, एम्बुलेन्स, र शववाहक चालकलगायतलाई खोप लगाउन लागिएको हो । हालसम्म १ लाख ८४ हजार फ्रन्टलाइनरले खोप लगाइसकेका छन् ।

पहिलो मात्रास्वरूप ४ लाख ३० हजार जनालाई लगाउने लक्ष्य तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, दुई फागुनदेखि आठ फागुनसम्म कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइने भएको छ । जसमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइने बताए । यस्तै, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइनेछ ।

खोप लगाउन जाँदा सबैले आआफ्नो कार्यालयको परिचयपत्र साथमा लिएर जानसमेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोभिड १९ विरुद्धको खोप दिने योजना अघि सारेको सरकारले केही दिनमै भारतबाट अनुमानित २० लाख डोज ल्याउने तयारी थालेको छ ।

यस्तै, सरकारले कोरोना संक्रमण पहिचानका लागि पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालामा १ हजार रुपैयाँ निर्धारण गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको सम्बन्धमा बिहीबार बसेको आईसीएसको बैठकले सो निर्णय गरेको हो । यसअघि कोरोना परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर बिहीबार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ रहेको छ । बिहीबार देशभर ३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

बिहीबार थप पाँच जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५२ पुगेको छ । हाल ८७ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ । यस्तै, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

12835
Shares

ट्रेन्डिङ