काभ्रे : धुलिखेल नगरपालिकाको देविस्थान क्षेत्रमा भब्य पार्क निर्माण हुने भएको छ । पहिलो चरणको काम सकिएको देवीस्थान पार्कमा थप सुविधा थप्न टेण्डर छिट्टै हुँदैछ ।
देविस्थान पार्कका लागि धुलिखेल नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७ करोड रूपैयाँ लगानी गर्ने नगरप्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो । ‘यहि आर्थिक वर्षमा टेण्डर हुन्छ, दुई वर्षभित्र पूर्णरुपमा सञ्चालनमा आँउछ, यो धुलिखेल नगरपालिकाभित्र अहिलेसम्मकै धेरै लगानी भएको पार्क बन्नेछ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
पार्कमा पहिलो चरणको काम पुरै सकिएको ईन्जिनियर राजन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बागमती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको ५०/५० प्रतिशत लगानीमा पहिलो चरणको काम सकिएको हो । पहिलो चरणमा २ करोड लगानी भैसकेको छ ।

७ करोड लगानीमा स्वास्थ्य कार्यालय देखिको सडक फराकिलो र पिच हुनेछ । यो सडक अब १६ फुटको बन्नेछ । पिक्निक सेन्टर, पार्किङ्ग गर्ने ठाउँ, कोसेली घर पनि पार्कको क्षेत्रभित्रै निर्माण गरिने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।
त्यस्तै बाइनाकुलर सहितको भ्यु सेन्टर समेत निर्माण हुनेछ । भ्यूटावरबाट, धुलिखेलर, बनेपा, पाँचखाल, पनौती लगायतका क्षेत्र मज्जाले अवलोकन गर्न सकिन्छ । ब्याञ्जु नगरप्रमुखमा निर्वाचित भए यता हालसम्म ३६ वटा पार्क बनिसकेका छन्। अझै कतिपय ठाउँमा बन्ने चरणमा रहेका छन् ।


