सबैको समाचार
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • नमोबुद्धमा २२८४ जनाको आँखा परीक्षण

नमोबुद्धमा २२८४ जनाको आँखा परीक्षण

5730
Shares
नमोबुद्धमा २२८४ जनाको आँखा परीक्षण

काभ्रे :  नमोबुद्ध नगरपालिकामा घरदैलो अभियानमार्फत २२ सय ८४ जनाको आँखा परीक्षण गरिएको छ । बालबालिकालाई लक्षित गर्दै भदौ ८ गतेदेखि असोज १७ गतेसम्म घरदैलो आँखा परिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । नमोबुद्ध नगरपालिका र सेवा फाउन्डेसनको सहकार्यमा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाले सञ्चालन गरेको कार्यक्रम आज सोमबार औपचारिकरुपमा समापन गरिएको छ ।

अभियानको क्रममा १ सय ११ जना बालबालिकालाई नि:शुल्क चस्मा वितरण गरिएको छ भने ३ सय ३५ जनालाई नि:शुल्क औषधि वितरण गरिएको टिम लिडर प्रफुल राज श्रेष्ठले जानकारी दिए । परिक्षण गरिएका मध्ये ६४ जनामा मोतियाविन्दु पहिचान भएको छ । यस्तै १ सय ४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ भने २ सय ४२ जनालाई प्राथमिक उपचार केन्द्र भकुन्डेमा उपचार गरिएको छ ।

यसैगरी दृष्टिदोष २ सय ६२ जना र शंकास्पद जलविन्दुका बिरामी २० जना भेटिएका छन् । कार्यक्रम समापनको क्रममा रेयुकाई आँखा अस्पताल र सेवा फाउन्डेसनका प्रतिनिधिलाई सम्मानसमेत गरिएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले उनीहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख तिमल्सिनले लकडाउनका कारण घरमै बसेर अनलाइनमार्फत अध्ययन गर्दा बालबालिकामा आँखाको समस्या देखिएको कुरालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको वताए । नमोबुद्ध नगरपालिकाले विगतका बर्षदेखी नै मोतियाविन्दु उन्मुलनका लागि आँखा अस्पतालसँगको सहकार्यमा नि:शुल्क आँखा परीक्षण र उपचारको काम गर्दै आएको तिमल्सिनाले वताए ।

उनले यही बर्ष नगरपालिकाले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्करुपमा कान सुन्ने मेसिन उपलव्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बिमा गराउने तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि सारिएको जानकारी दिएका छन् ।

घरदैलो आँखा परिक्षण कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिएको थियो । बालबालिकालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिए पनि युवा र वृद्धवृद्धाको पनि आँखा परिक्षण गरिएको थियो ।

5730
Shares

ट्रेन्डिङ