जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीलाई आलोपालो प्रणालीमा सेवा प्रदान गर्ने भएको छ ।
कोरोना भाइरसको प्रभावको कारण सेवाग्राहीको भीडभाड नहुने गरी अर्को व्यवस्था नभएसम्मको लागि अत्यावश्यक बाहेकका सेवा बार अनुसार प्रदान गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
आइतबारबाट बार अनुसार सेवा प्रवाह गरिने प्रशासनले जनाएको छ । जसअनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये धुलिखेल नगरपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, बनेपा नगरपालिका र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, पनौती नगरपालिका, बेथानचोक गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार सेवा दिइनेछ ।
त्यस्तै पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीलाई बुधबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई बिहिबार र नमोबुद्ध नगरपालिका र खानीखोला गाउँपालिकाका सेवाग्राहीलाई शुक्रबार सेवा दिने गरी व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।
महाभारत गाउँपालिकाको हकमा भने सम्पूर्ण सेवा इलाका प्रशासन कार्यालय देविटारमा उपलब्ध हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताए । अत्यावश्यक सेवाहरु शान्ति सुुरक्षा,मुद्धा र इमर्जेन्सी राहदानी लगायतका सेवाका लागि भने बार तोकिएको छैन् ।
सेवाहरु प्रशासनबाट ६ दिन नै लिन सकिनेछ । सेवा लिन आउँदा खोप कार्ड (मोबाइलमा फोटो तथा विद्युतिय छायाप्रति) अनिवार्य लिएर आउन पनि प्रशासनले आग्रह गरेको छ ।