सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

1805
Shares
विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी :- विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो ।

उहाँका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ । बिहानको समयमा लाइनमा लागेका बेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो ।

सुरुमा एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि देखिएको उहाँले बताउनुभयो । “विद्यालय समयमा दैनिक चार÷पाँच छात्रामा यस्तो समस्या देखिने गरेको छ । १२ देखि १७ उमेर समूहका छात्रामा यो समस्या बढी छ”, कलौनीले भन्नुभयो, “विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन पनि प्रभावित हुने गरेको छ ।”

छात्रामा देखिएको यस्तो समस्या ‘मास हिस्टेरिया’ रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । “यो सामान्य खालको बिरामीको लक्षण हो । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा बेहोस हुने क्रम सर्ने गर्दछ”, उहाँले भन्नुभयो, “मनोपरामर्शलाई जोड दिने, सान्त्वना दिने, मनोबल बढाउने खालका कुरा गर्ने, सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिनेलगायत क्रियाकलापमा सहभागी गराउनुपर्छ । विस्तारै समस्या कम भएर जान्छ ।”

यसअघि बैतडीको पञ्चेश्वर र सिँगास गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी बेहोस हुने समस्या देखा परेको थियो ।

1805
Shares

ट्रेन्डिङ