सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • निगमले अमेरिकी कम्पनीको जहाज खरिद गर्ने

निगमले अमेरिकी कम्पनीको जहाज खरिद गर्ने

4215
Shares
निगमले अमेरिकी कम्पनीको जहाज खरिद गर्ने

(रमेश लम्साल)
नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग दुई वटा जहाज खरिद गर्ने भएको छ ।
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जहाज खरिदको विषयमा प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा अमेरिकी कम्पनीको जहाज खरिद गर्ने निर्णय गरेको राससलाई जानकारी दिनुभयो ।
उहाँले आजै अमेरिकी कम्पनीलाई आशयपत्र समेत पठाइएको जानकारी दिँदै केही दिनभित्रै अमेरिकी कम्पनी सम्पर्कमा आउने र जहाज खरिदको समग्र विषयमा छलफल हुने बताउनुभयो ।
सरकारले निगमलाई जहाज खरिदका लागि जमानी बस्ने निर्णय यसअघि नै गरिसकेको छ । प्रबन्ध निर्देशक कंसाकारले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जहाज खरिदको विषयमा निर्णय गर्न निगमलाई यसअघि नै सहमति दिनुभएको उल्लेख गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजी बैंक तथा वित्तीय संस्थाले समेत ऋण लगानी गर्ने वचन दिएको बताउनुभयो ।
“एउटा महत्वपूर्ण निर्णय गरिएको छ, मुलुकको आर्थिक समृद्धिका लागि ढोका खोल्न सामान्य प्रयास गरिएको छ । सबैको सकारात्मक सहयोग प्राप्त भएको छ । राष्ट्रिय ध्वजाबाहकले अब कोल्टे फेर्नेछ भन्ने विश्वास पैदा भएको छ”–प्रबन्ध निर्देशक कंसाकारले भन्नुभयो ।
अमेरिकी कम्पनीसँग प्राविधिक, व्यापारिक तथा जहाजको समग्र पक्षको बारेमा छलफल गरिने र खरिदको अन्तिम निर्णय गरिने उहाँको भनाइ छ । एएआर कर्पोरेसनले दिएको प्रस्ताव स्वीकृत भएपछि प्रारम्भिक सम्झौता गर्ने बाटो खुलेको जानकारी दिँदै उहाँले सन् २०१७ को सेप्टेम्बरसम्ममा पहिलो जहाज काठमाडौँ ल्याउने गरी तयारी गरिएको राससलाई जानकारी दिनुभयो ।
अर्को जहाज भने सन् २०१८ को मार्चसम्म आइपुग्नेछ । कुल १० वटा कम्पनीको प्रस्तावमध्ये अमेरिकी कम्पनीको प्रस्ताव नै निगमका लागि वस्तुनिष्ट र समयानुकूल रहेको प्राविधिक समितिले प्रतिवेदन दिएको थियो ।
शनिबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले अमेरिकी कम्पनीको जहाज खरिद गर्ने निर्णय गरेको र आजै आशयपत्रसमेत पठाइएको उल्लेख गर्दै उहाँले नेपालको वायु सेवाको इतिहासमा पछिल्लो निर्णयले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०–२००’ जहाज खरिदका लागि आह्वान गरेको टेन्डरमा १० वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । प्रस्ताव गरिएकामध्ये एएआरले सबैभन्दा सस्तोमा नयाँ विमान उपलब्ध गराउने प्रस्ताव ल्याएको निगमका प्रबन्ध निर्देशक कंसाकारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले एक हजार घन्टासम्म उडेको भएपनि निगमलाई स्वीकार्य हुने भनेका थियौँ तर कम्पनीले नयाँ जहाज सस्तोमा उपलब्ध गराउने प्रस्ताव ग¥यो ।”
निगमले दुईवटा एयर बसलाई रु २५ अर्बसम्म पर्ने अनुमान गरेको छ । सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैंक, निजी क्षेत्रका बैंकले समेत लगानीका लागि चासो देखाएको र रकम प्राप्त हुने अवस्थाको समेत सुनिश्चित भइसकेको बताइएको छ । रासस

4215
Shares

ट्रेन्डिङ