सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • राष्ट्रिय सभा निर्वाचनका लागि बागमती कांग्रेसबाट काभ्रेका गणेश लामाको नाम सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती कांग्रेसबाट काभ्रेका गणेश लामाको नाम सिफारिस

2825
Shares
राष्ट्रिय सभा निर्वाचनका लागि बागमती कांग्रेसबाट काभ्रेका गणेश लामाको नाम सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काभ्रे कांग्रेसका नेता गणेश लामाको नाम राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस भएको छ ।

बुधबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि बागमती प्रदेशका १३ जिल्लाबाट गणेश लामा सहित ९१ जनाको नाम सिफारिस गरेका हुन् ।

लामा गत मंसिरमा सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट निर्वाचनमा होमिन खोजेका थिए । तर गठबन्धनमा भागबण्डा नमिलेर पार्टी सभापति तीर्थ लामाले क्षेत्र परिवर्तन गरेपछि गणेश लामाले टिकट गुमाएका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिको कार्य सम्पादन समितिले उम्मेदवार सिफारिसको सम्पूर्ण अधिकार सभापति बानियाँलाई नै दिएको थियो । सोही आधारमा बानियाँले जिल्लाबाट प्राप्त सिफारिसलाई अध्ययन गरी कांग्रेस केन्द्रीय कार्यालयमा सिफारिस गरेका हुन् ।

कांग्रेस बागमती प्रदेशले १० जना केन्द्रीय सदस्यसहित २ जना जिल्ला सभापतिलाई राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाउन सिफारिस गरेको छ भने ४ जना प्रदेश पदाधिकारी, २ जना जिल्ला सभापति र २ जना राष्ट्रिय व्यक्तित्वसहित ९१ जनालाई राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

जसमा केन्द्रीय सदस्यहरू काभ्रेका गणेश लामा, दोलखाका जिप छिरिङ लामा, धादिङका दिलमान पाख्रिन, चितवनका टेक बहादुर गुरुङ रहेका छन् । काठमाडौँकी राधा घले, हरिशरण नेपाली, भक्तपुरका गंगा अवला, मदनकृष्ण श्रेष्ठ, ललितपुरका मदन अमात्य र जितजंग बस्नेत राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि कांग्रेस बागमती प्रदेशले सिफारिस गरेको छ ।

प्रदेश पदाधिकारीबाट राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारका लागि सिफारिस हुनेमा उपसभापति चन्द्र महर्जन, महासचिव राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डङ्गोल र हरिशरण श्रेष्ठ रहेका छन् ।

काठमाडौँका जिल्ला सभापति सबुज बानियाँ र मकवानपुरका सभापति बुद्ध लामा पनि राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि प्रदेश समितिले सिफारिस गरेको छ । राष्ट्रिय व्यक्तित्व तर्फ कलाकार निर शाह र पत्रकार तारानाथ दाहाललाई राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट ४ जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो ।

2825
Shares

ट्रेन्डिङ