दाङ | बलात्कारको आरोपमा तुलसीपुरमा एक बालकसहित तीन जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१२ की १५ वर्षीया बालिकालाई शनिबार बेलुका तुलसीपुर–११–स्थित खाली गोठमा लगी बलात्कार गरेको आरोपमा स्थानीय २१ वर्षीय अशोक चौधरी र १६ वर्षीय एक बालक पक्राउ परेका छन् ।
बालकलाई घटनास्थलबाटै तत्काल पक्राउ गरेको र चौधरी घटनापछि फरार रहेकोमा आइतबार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।
यसैगरी माघ १० गते दिउँसो तुलसीपुर–९ बेलुवाकी २७ वर्षीया महिलालाई कोठामा आएर बलात्कार गरेको आरोपमा तुलसीपुर–३ का ३६ वर्षीय भागिराम सुनार पक्राउ परेका छन् ।
घटनापछि फरार रहेका सुनारलाई आइतबार दिउँसो आफ्नै घरनजिक फेला पारी नियन्त्रणमा लिएको मल्लले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई सोमबार जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।