काठमाडौं । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् ।
“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”
प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
“यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले बताए ।