काठमाडौं । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको छ ।
राम्रो आम्दानीको प्रलोभन दिई दलालले सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट उनीहरूलाई कश्मीर पुर्याएका थिए । तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्याइयो ।
त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए ।पीडित मजदुरहरूका अनुसार उनीहरूलाई पुग्ने गरी खाना पनि दिइएको थिएन । कुटपिट र अमानवीय व्यवहार दिनचर्या बनेको थियो । तीन महिनादेखि पारिश्रमिक नदिएको, थुनेर राख्ने, कडा निगरानीमा काममा लगाउनेजस्ता व्यवहार गरिँदै थियो ।
उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३, सर्लाहीका ९ र बाँकी धनुषाका छन् । त्यसमा ६ जना नाबालसमेत छन् ।
दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले उद्धार कार्यका लागि कश्मीर प्रहरीको सहयोग पाइएको र दोषीहरूलाई पक्राउ गरेर उनीहरूमाथि कानुनी कारबाहीका लागि समन्वय भइरहेको बताए ।