सर्लाही । सर्लाहीको तीनमध्ये दुई चिनी मिलले यो सिजनको उखु क्रसिङ सुरु गरेका छन ।
तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आइसकेका छन् ।
अन्नपूर्ण चिनी उद्योग चार दिनअघिदेखि सञ्चालनमा आएको धनकौल गाउँपालिका–२ का रामकल्याण यादवले जानकारी दिए ।
उद्योगले बलरा, रामनगरलगायत सीमावर्ती क्षेत्रका किसानबाट उखु खरिद गरेर क्रसिङ सुरु गरेको हो । सीमावर्ती क्षेत्रबाट उद्योगले उखु ल्याएर धमाधम क्रसिङ गरिरहे पनि आफूहरूले उद्योगबाट पुरानो बक्यौता भने नपाएकाले तत्काल उखु नदिने यादवले बताए ।
दक्षिणवर्ती भेगस्थित महालक्ष्मी चिनी उद्योग बगदहले पनि बिहीबारबाट उखु क्रसिङ सुरु गरेको छ । बिहीबार दिउँसो २ बजेबाट उखु पेल्न सुरु गरिएको महालक्ष्मी चिनी उद्योगका उखु प्रबन्धक पवनसिंह यादवले जानकारी दिए ।
महालक्ष्मीले किसानलाई अघिल्लो वर्षको दुई करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताएका छन् । उद्योगले १० दिनभित्र पुरानो बक्यौता र नयाँ उखुको भुक्तानी दिने सहमति भएको उखु किसानसमेत रहेका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले जानकारी दिए ।
यस्तै हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग भने दुई सातापछि मात्रै सञ्चालन हुने भएको छ । इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले मङ्सिर २७ देखि उद्योग चालु गर्ने तयारी भइरहेको बताए ।