काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न जाँदा च्यापिएर ७ जना घाइते भएका छन् ।
सुरक्षामा खटिएका दुई जना प्रहरी सहित ७ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न जाँदा भिडमा च्यापिएर उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा रुपन्देही घर भएका २५ वर्षीय जयन श्रेष्ठ, गुल्मी घर भएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तुका केशव आचार्य, बैतडी घर भएका केशव नेगी र रुकुम घर भएका प्रेम खड्गी छन् ।
जुम्ला घर भएका प्रहरी जवान दान बहादुर राउत र धादिङ घर भएका जवान २६ वर्षीय अजय तामाङ घाइते भएका छन् ।
प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जयन श्रेष्ठ सहित दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनीहरू भिडमा च्यापिएर लड्दा घाइते भएका हुन् ।