रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित राईटोलमा शनिबार बाघको आक्रमणमा परी वडाध्यक्षसहित दुईजना घाइते भएका छन् ।
बाघको आक्रमण परी गुजरा–१ का ६५ वर्षीय बौराही चौधरी र वडाध्यक्ष ५५ वर्षीय रामजीत चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी दिपककुमार रायले जानकारी दिएका छन् ।
उनका अनुसार आफ्नै घर नजिक रहेको आलुबारीमा पानी पटाउन गएको बेला बौराहीमाथि अचानक बाघले आक्रमण गरेको थियो । उनको टाउको र दुवै हातमा चोट लागेको छ । बाघले आक्रमण गरेको देखेर बचाउन गएका गुजरा–१ का वडाध्यक्ष रामजीतलाई समेत झम्टिएर घाइते बनाएको थियो । उनको दुवै हातमा चोट लागेको छ ।
रंगपुर चौकीबाट प्रहरीको टोलि घट्नास्थल पुगेको थियो । घाइते दुवैलाई चन्द्रपुरस्थित सरकारी अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । दुवैको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थल नजिक लमाह खोला पर्छ । त्यस क्षेत्रको तुरतुरे धारा जंगलमा बाघको बासस्थान रहेको वन कर्मचारीहरु बताउँछन् ।