सबैको समाचार
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • कफी खेतीमा काभ्रेको महाभारत क्षेत्र देशकै अग्रणी, किसानको आकर्षण बढ्दै

कफी खेतीमा काभ्रेको महाभारत क्षेत्र देशकै अग्रणी, किसानको आकर्षण बढ्दै

115
Shares
कफी खेतीमा काभ्रेको महाभारत क्षेत्र देशकै अग्रणी, किसानको आकर्षण बढ्दै

पुजन धिताल / काभ्रे :– काभ्रेको महाभारत गाउँपालिका कफी उत्पादनका लागि देशकै प्रमुख क्षेत्रको रूपमा स्थापित हुँदै गएको छ। जिल्लाको भौगोलिक हिसाबले विकट मानिने डाँडापारी र कोशीपारी क्षेत्र अहिले कफी उत्पादनका लागि पकेट क्षेत्रको रूपमा विकास भइरहेको छ। प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा “एक वडा, एक उत्पादन” कार्यक्रम अन्तर्गत किसानलाई कफी खेतीतर्फ आकर्षित गर्न तालिम तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएका छन्।

कफी उत्पादक केन्द्रीय सहकारी संघका अध्यक्ष तुलसी धितालका अनुसार गत वर्ष काभ्रेमा मात्र ७४.४ मेट्रिक टन कफी उत्पादन भएको थियो। अन्यत्र छहारी आवश्यक पर्ने कफी खेती यहाँ भिरालो जमिनमा समेत सफल हुँदै गएकाले यस क्षेत्र कफी उत्पादनका लागि उपयुक्त बन्दै गएको छ।

महाभारत गाउँपालिका वडा नं. ५ निवासी जितबहादुर मोक्तानले करिब ९ सय बोट कफी खेती गर्नुभएको छ। उहाँ भन्छन्, “कोदो, मकैभन्दा कफी खेती निकै फाइदाजनक छ। बूढो भएपछि पनि काम गर्न सकिने भएकाले यो खेती निकै राम्रो लागेको छ।”

यसै वडाका लाल ब. मोक्तानले प्रति केजी ८१० रुपैयाँका दरले ६ सय किलो कफी बिक्री गर्नुभएको छ। उहाँले सिँचाइको समस्या समाधान भए उत्पादन अझै वृद्धि हुने बताउनुभयो।

यस्तै, निरोज पुलामीले पनि यस वर्ष मात्र ३ देखि ४ सय किलो कफी बजारमा पठाउनुभएको छ। उहाँ भन्नुहुन्छ, “मकै खेतीको परम्परागत सोचलाई परिवर्तन गर्दै कफी खेती प्रभावकारी बन्दै गएको छ।”

महाभारतकै हर्क ब. थोकरले ६ सय किलो कफी चेरी उत्पादन गर्नुभएको छ। उहाँले प्राविधिक ज्ञानको अभावले किसानलाई समस्या भइरहेको बताउँदै, नियमित तालिम आवश्यक रहेकोमा जोड दिनुभयो।

कफी खेती प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा “एक वडा, एक उत्पादन” कार्यक्रम सञ्चालन गरिएको छ। तालिम अन्तर्गत ४१ हजार कफीका बिरुवा र छहारीका लागि अन्य ५ हजार बिरुवा तथा कृषि उपकरणहरू किसानलाई हस्तान्तरण गरिएको छ।

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार महाभारत गाउँपालिकामा गत वर्षदेखि सामुदायिक रूपमा कफी खेती प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ। यस वर्ष मात्रै ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको छ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न पूर्वाधार निर्माण प्राथमिकतामा राखिएको बताउनुभयो। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भने जस्ले रोप्छ कफी को बोट उसैले पाउछ २० को नोट भन्ने गाउपालिकाले नारा नै बनाएको पनि अध्यक्ष जिम्बाले बताउनु भयो।

महाभारत गाउँपालिकाबाट मात्र वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कफी बजारमा बिक्री भइरहेको छ। कफी उत्पादन वृद्धि गर्न सिँचाइ र आधुनिक प्रविधिको आवश्यकता रहेको किसानहरू बताउँछन्।

स्थानीय तहसँगको सहकार्यमा महाभारत, खानीखोला, मण्डनदेउपुर, भुम्लु र चौँरीदेउराली क्षेत्रलाई कफी पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य छ। तीनै तहका सरकारको सहकार्यमा पूर्वाधार सुधार र प्रविधि हस्तान्तरण गर्न सके काभ्रे कफी उत्पादनमा अग्रस्थान कायम गर्न सफल हुनेछ।

115
Shares

ट्रेन्डिङ