सबैको समाचार
शनिबार, जेष्ठ ४, २०८२
  • होमपेज
  • निजी आवास पुनःनिर्माण एक वर्षभित्र सक्न सरकार प्रतिबद्ध छ :- गृहमन्त्री रमेश लेखक

निजी आवास पुनःनिर्माण एक वर्षभित्र सक्न सरकार प्रतिबद्ध छ :- गृहमन्त्री रमेश लेखक

विपी राजमार्ग बर्खामा समेत सञ्चालनमा ल्याउँछौं :- गृहमन्त्री

100
Shares
निजी आवास पुनःनिर्माण एक वर्षभित्र सक्न सरकार प्रतिबद्ध छ :- गृहमन्त्री रमेश लेखक

काभ्रे :-असोज दोस्रो साताको बाढी र पहिरोका कारण क्षति भएका ७१ पालिकामध्ये रोशी गाउँपालिकाको वडा नं. २ बाट विस्तृत क्षति आँकलन शुभारम्भ गरिएको छ। क्षति पुगेको करिब ७ महिना पछि मात्र सरकारले स्थानीय तहसँग मिलेर विस्तृत क्षति आँकलन सुरु गरेको हो। रोशी गाउँपालिका वडा नं. २ नारायणटार तथा पालिकाभरिका मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ कार्यक्रममा गृहमन्त्री लेखकले बाढीपहिरोबाट पूर्ण क्षति भएका सबै निजी आवास एक वर्षमा निर्माण सम्पन्न गर्ने सरकारको प्रतिबद्धता जनाउनुभयो।

गृहमन्त्री रमेश लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुनःनिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको बताउनुभयो। उहाँले केही नीति, कानुन र कार्यविधिका कारण बाढीपहिरोबाट भएको क्षतिको पुनःनिर्माणमा ढिलाइ भएको दाबी गर्नुभयो। साथै, विपी राजमार्ग पुनःनिर्माण कार्य अघि बढिसकेको र बर्खामा समेत राजमार्ग सञ्चालन गर्ने गरी कार्य प्रारम्भ भएको जानकारी दिनुभयो।

गृहमन्त्री लेखकले विस्तृत क्षति सङ्कलनको काम सम्पन्न भए लगत्तै अस्थायी र स्थायी आवासको काम सुरु गरिने बताउनुभयो। उहाँले काभ्रेपलाञ्चोकमा रहेका बाढीपहिरो पीडित परिवारका लागि अस्थायी आवास निर्माण गर्न बुधबारसम्म ७ करोड ३५ लाख रुपैयाँ रकम उपलब्ध भइसकेको जानकारी दिनुभयो।

सरकारले अस्थायी आवासका लागि २५ हजारका दरले दुई किस्तामा ५० हजार रुपैयाँ र स्थायी आवासका लागि चार लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभयो। गृहमन्त्री लेखकले स्थानीय तहले विपद् पोर्टलमा प्रभावितको तथ्याङ्क समावेश गर्ने काममा ढिलाइ र बजेट लगायत विविध कारणले पुनःनिर्माणको काममा ढिलाइ भएको बताउनुभयो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य मान डोंगले मनसुनको समयमा बाढीपहिरो प्रभावित नागरिक झन प्रभावित बन्न सक्ने भएकाले बेलैमा सचेत भएर पुनःनिर्माणको काम सुरु गर्नुपर्ने बताउनुभयो। निजी आवाससँगै बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको काम समेत सुरु गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, प्रदेशसभा सदस्य तीर्थ लामाले बाढीपहिरोबाट क्षति भएका निजी आवास तथा सार्वजनिक पूर्वाधार निर्माणका लागि सबै एकजुट भएर छिटोभन्दा छिटो काम गर्नु पर्ने तर्क गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टले बाढीपहिरोका कारण क्षति भएका निजी आवासको विस्तृत आँकलनको काम सकिएपछि स्थायी आवास निर्माण सुरु गरिने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले निजी आवाससहित सार्वजनिक पूर्वाधारको पुनःनिर्माण कसरी सुरु गर्ने भन्ने चुनौती रहेको बताउनुभयो। बाढीपहिरोका कारण गाउँपालिकाभित्रको सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएकाले खाद्य सङ्कटको अवस्था देखिने जोखिम रहेकाले यस्ता कार्यमा तीनै तहका सरकारले ध्यान दिनु पर्ने बताउँदै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

गत असोजमा गएको बाढीपहिरोको क्षति आँकलनका लागि १८ जना प्राविधिक खटिने छन्। गाउँपालिकाभर ५३६ घरधुरी पूर्ण क्षतिग्रस्त भएका छन्। पालिकाभर १३ जनाले बाढी र पहिरोबाट ज्यान गुमाएका छन् भने जिल्लाभर ७९ जनाले ज्यान गुमाएका थिए।

रोशी गाउँपालिकामा पालिका अस्पताल, डम्फु जीवन्त सङ्ग्रहालय, झोलुंगे पुल तथा विपी राजमार्गको करिब १२ किलोमिटर क्षेत्र क्षतिग्रस्त भएको पालिकाले जनाएको छ।

100
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका