सबैको समाचार
शनिबार, असार ७, २०८२
  • होमपेज
  • अवैध सुन-चाँदी व्यापारमा संलग्न विदेशी नागरिक सहित पाँच जना बनेपाबाट पक्राउ

अवैध सुन-चाँदी व्यापारमा संलग्न विदेशी नागरिक सहित पाँच जना बनेपाबाट पक्राउ

95
Shares
अवैध सुन-चाँदी व्यापारमा संलग्न विदेशी नागरिक सहित पाँच जना बनेपाबाट पक्राउ

काभ्रे : – जिल्लाको बनेपामा अवैध रुपमा सुन र चाँदीका गहना निर्माण तथा बिक्री वितरण गर्दै आएको गिरोह पक्राउ परेको छ। विदेशी नागरिकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार मिति २०८२ साल जेठ ७ गते बिहान ११:०० बजेको समयमा बनेपा नगरपालिका–७, परिवार नियोजन चोकस्थित ‘मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टर’ मा प्रहरीले छापा मारेको थियो।

प्रवक्ता घलेका अनुसार, भारत पश्चिम बंगाल राज्य, मदनपुर जिल्ला, पसवाई ग्राम पञ्चायत, दासपुर थाना निवासी ४७ वर्षीय दिपंकर मैतीले उक्त ज्वेलर्स संचालन गर्दै आएका थिए। उनकाे कोठाबाट ६७८.८३ ग्राम सुनजस्तो देखिने पहेँलो धातु, भारतीय रुपैयाँ रू २५,३१० र नेपाली रुपैयाँ रू. १,२१,००५ बरामद गरिएको छ।

त्यसैगरी, अवैध क्रियाकलापमा संलग्न भारत पश्चिम बंगाल, मेदिनिपुर, निजामपुर घर भई पाँचखाल नगरपालिका–४ बस्ने ३० वर्षीय सुमन सासमोलको साथबाट २३.०८ ग्राम सुनजस्तो धातु , बनेपा नगरपालिका–७ बस्ने ३८ वर्षीय ऋषिकेश गोड्सेको कोठाबाट ३२७.७५० ग्राम चाँदीजस्तो धातु फेला परेको छ।

त्यस्तै, प्रहरीका अनुसार स्थायी ठेगाना नखुलाइएका २२ वर्षीय विजय घोराई र ३८ वर्षीय दिपंकर साउलाई पनि पक्राउ गरिएको छ। बरामद सामान र पक्राउ परेका सबै व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरीहर भवन, ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता घलेले जानकारी दिनु भयो ।

95
Shares

ट्रेन्डिङ