काभ्रेपलाञ्चोक । बनेपामा निर्माणाधिन फिल्म स्टुडियोको लागि दोस्रो चरणको बोलपत्र आह्वान भएको छ ।
आइतबार प्रकाशित सूचनामा इच्छुक निर्माण कम्पनीलाई ३० दिनभित्र अनलाइनमार्फत ठेक्काको आवेदन दिन भनिएको छ ।
अहिले बनेपा नगरपालिका १० स्थित जनगलमा ‘सिनेपाः’ फिल्म स्टुडियो निर्माण भैरहेको छ । सो स्टुडियोको भित्री भाग निर्माणका लागि दोस्रो चरणको ठेक्का आह्वान गरिएको हो ।

बोलपत्र रकम ३६ लाख रुपैयाँ उल्लेख छ । यसअघि, २०८१ माघ २७ गते चलचित्र विकास बोर्डले पहिलो टेन्डर आह्वान गरेको थियो । बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार, ‘सिनेपाः’ नेपालको ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ ।
निजी स्तरमा केही स्टुडियो भएपनि सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक बन्ने अध्यक्ष डीसीले बताए ।
४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यस स्टुडियोले स्वदेशी फिल्म निर्मातालाई प्रविधियुक्त, गुणस्तरीय र लागतमैत्री छायांकन स्थल उपलब्ध गराउने जनाइएको छ । वर्षौंदेखि योजनास्तरमा रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो ।
२०८२ साल बैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थितसरकारी निवासमा आयोजित विशेष कार्यक्रममा स्टुडियो निर्माण आरम्भ भएको औपचारिक घोषणा गरेका थिए ।
