काभ्रेपलान्चोक । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर विधिपूर्वक मनाइँदै छ।
वैदिक सनातन परम्परा अनुसार बिहानैदेखि नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको जनै र रक्षासूत्र (डोरो) धारण गर्ने प्रचलन रहेको छ। धार्मिक विश्वासअनुसार यसरी धारण गरिएको जनै र रक्षासूत्रले नकारात्मक शक्ति र अनिष्टबाट सुरक्षा प्रदान गर्छ।

यस अवसरमा काभ्रेको बनेपा नगरपालिका–६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल गोसाइँस्थानमा पनि आज विशेष मेला लागेको छ। यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। गोसाइँस्थानस्थित गोसाइँकुण्ड र शिव मन्दिरमा बिहानैदेखि पूजाआजा, दर्शन तथा स्नान गर्नेहरूको घुइँचो लागेको छ।

मेलामा काभ्रेका विभिन्न स्थानका साथै काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन्। रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने तीर्थालुहरू बनेपाको गोसाइँस्थानमा आएर पूजाआजा, दर्शन र धार्मिक अनुष्ठानमा सहभागी हुने गर्छन्। मेलामा ब्राह्मणको हातबाट जनै धारण गर्ने, रक्षाबन्धन बाँध्ने, ऋषि तर्पण गर्ने तथा धार्मिक कथा–वाचन सुन्ने गतिविधि पनि हुन्छ।

केही वर्षयता यस स्थानलाई नैमिशारण्य क्षेत्रका रूपमा विकास गरिएकाले टाढा–टाढाबाट आउने तीर्थालुको संख्या बढ्दै गएको छ। हरियालीले भरिएको जंगलको बीच भागमा अवस्थित यो गोसाइँकुण्डबारे एक रोचक किंवदन्ती पनि छ ।
गोसाइँकुण्डमा मेला सुरु भएपछि त्यहाँ स्नान गरी जल लिन गएका एक तीर्थालुको कमण्डलु हराएको थियो। पछि आएर सो कमण्डलु अहिलेको बुडोलस्थित गोसाइँकुण्डमा भेटिएपछि यस स्थानलाई रसुवाको गोसाइँकुण्डको सहायक तीर्थका रूपमा मान्दै मेला भर्ने, स्नान गर्ने र जल अर्पण गर्ने परम्परा चल्दै आएको हो।