सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • महाभारतमा दुई दिनमै दुई गर्भवती र सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

महाभारतमा दुई दिनमै दुई गर्भवती र सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

750
Shares
महाभारतमा दुई दिनमै दुई गर्भवती र सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिकामा पछिल्ला दुई दिनको अवधिमा स्वास्थ्य अवस्था गम्भीर भएकी दुई सुत्केरी र गर्भवती महिलालाई प्रतिकूल मौसमका बीचमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क सम्पन्न भएको यस उद्धार कार्यमा नेपाली सेनाको हेलि एम्बुलेन्स सेवा र महिला, बालबालिका तथा वरिष्ठ नागरिक मन्त्रालयको निरन्तर विशेष सहयोग रहेको गाउँपालिकाले जनाएको छ।

साउन २४ गते महाभारत गाउँपालिका–१ निवासी २० कि सुजिता थिङ सुत्केरीपश्चात् मूत्र रोकिने गम्भीर स्वास्थ्य समस्यामा परेकी थिइन्। गोठगाउँ स्वास्थ्य चौकीमा उपचाररत उनलाई थप जटिलता हुनसक्ने देखिएपछि स्वास्थ्यकर्मीहरूको सिफारिसमा हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पुर्‍याइएको थियो।

त्यसैगरी, साउन २५ गते महाभारत गाउँपालिका–६ बनमुढीकी २५ वर्षीया सुनिता मोक्तान लामो समयसम्मको प्रसव पीडा र श्रोणि संकुचनका कारण सुत्केरी पश्चात् स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेकी थिइन्।

स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई पनि नेपाली सेनाको हेलि एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पठाइएको हो।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार दुर्गम भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित पूर्वाधारबीच उद्धार कार्य सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेना र महिला, बालबालिका तथा वरिष्ठ नागरिक मन्त्रालयको विशेष योगदान रहेको छ।

गाउँपालिकाले उद्धारमा संलग्न सबै पक्षलाई आभार प्रकट गरेको छ।

750
Shares

ट्रेन्डिङ