सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बनेपामा तीन हजारभन्दा बढी कन्याहरूको पुजा सम्पन्न

बनेपामा तीन हजारभन्दा बढी कन्याहरूको पुजा सम्पन्न

615
Shares
बनेपामा तीन हजारभन्दा बढी कन्याहरूको पुजा सम्पन्न

काभ्रे । जिल्लाको बनेपामा जिल्लाकै पुरानो कन्या पुजा भव्य रूपमा सम्पन्न भएको छ। नेवार समुदायको सांस्कृतिक पहिचान झल्काउने यो परम्परा २००१ सालदेखि निरन्तर जारी छ।

बनेपा नगरपालिका–९ दछु टोल कन्या पुजा व्यवस्थापन समितिले आयोजना गरेको पुजामा यस वर्ष पनि करिब ३,००० देखि ३,२०० सम्म बेल विवाह नगरेका बालिकालाई पुजिएको समितिका कोषाध्यक्ष हेमन्त राज प्रधानले बताए।

उनका अनुसार कन्या पुजाको धार्मिक मान्यता अत्यन्त महत्वपूर्ण छ। प्रचलनअनुसार बेल विवाह नगरेकी बालिकालाई देवी स्वरूप मानेर पुजा गर्दा पुण्य प्राप्त हुने, परिवारमा समृद्धि आउने र रोगव्याधिबाट बच्ने विश्वास रहिआएको छ। हिन्दु धर्मशास्त्रअनुसार कन्या पूजा शक्ति, पवित्रता र देवीको प्रतीकका रूपमा गरिन्छ।

प्रधानले भने, “हामीले हरेक वर्ष तीन हजारभन्दा बढी कन्याहरूलाई पुज्दै आएका छौँ। यो परम्परा निरन्तरता दिइरहेका छौँ।”

यस परम्पराअन्तर्गत बाजागाजासहित बनेपाको पुरानो बजार क्षेत्र घुमाउने र त्यसपछि लायकुबाट सुरु हुने सामूहिक पुजा गरिन्छ। पुजा सम्पन्न भएपछि सहभागी कन्याहरुलाई प्रसाद, मिठाई र अन्य खानेकुरा वितरण गरिन्छ।

स्थानियको भनाइ अनुसार यो कन्या पुजा बनेपाको सबैभन्दा पुरानो धार्मिक र सांस्कृतिक परम्परामा गनिन्छ। समितिले आगामी कृष्ण जन्माष्टमीको अवसरमा पनि बृहत् कन्या पुजा आयोजना गर्ने तयारी गरेको छ।

धार्मिक मान्यता अनुसार कृष्ण जन्माष्टमीमा कन्या पुजाको महत्व अझ बढी हुन्छ। बनेपा मात्र नभई धुलिखेल, पनौती लगायत जिल्लाका विभिन्न नेवार समुदाय बसोबास गर्ने क्षेत्रमा समेत कृष्ण जन्माष्टमीको दिन कन्या पुजा गर्ने परम्परा छ।

615
Shares

ट्रेन्डिङ