सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • निगमलाई नाफामुखी र सेवामुखी बनाएको छु

निगमलाई नाफामुखी र सेवामुखी बनाएको छु

3975
Shares
निगमलाई नाफामुखी र सेवामुखी बनाएको छु
गोपालबहादुर खड्का चिनाई राख्नु पर्ने नाम होइन । नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्काले दुर्गम जिल्ला ओखलढुंगाको सगरमाथा माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरी भारतको लखनउबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका छन् ।
उनले मद्रासबाट सिभिल इन्जिनियरिङ पास गरेका थिए । साथै, पूर्वाधार व्यवस्थापनमा स्नातकोत्तर गरेका खड्काले २०३६ सालमा सडक विभागमा ओभरसियरबाट जागिरे जीवन सुरु गरी डिभिजन प्रमुखसम्म भएर झन्डै ३६ वर्ष काम गरे । अरनिको राजमार्ग, थानकोट–नौबीसे राजमार्ग, नौबीसे–मुग्लिन सडकखण्ड, काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा डिभिजन प्रमुख भएर काम गरेको अनुभव पनि उनीसँग छ ।
काठमाडौं सडक विस्तार आयोजनामा समेत काम गरेका उनले उपत्यकामा सडक विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका थिए । सडक विभागबाट अवकाश पाएपछि उनी राजनीतिक नियुक्तिबाट २०७२ सालमा नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भए । नियुक्त भएसँगै उनले लामो समयदेखि ऋण बोक्दै आएको नेपाल आयल निगमलाई ऋणमुक्त गराउन सफल भए ।
३६ अर्ब ऋणमा रहेको निगमलाई उनले गत असारमा ऋण मुक्त गराए । छोटो समयमा उनी निगमको ऋणभारसँगै प्रशासनिक सुधार गर्न सफल पनि भए । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागूसँगै निगम पछिल्लो समय नाफामा गएको छ । अहिले निगम मासिक १४ करोड नाफामा छ । पेट्रोलियम पदार्थबाट कमाएको रकम निगमले पूर्वाधार निर्माणका लागि संकलन गर्दै आएको छ ।
निगमले बूढीगण्डकी आयोजना निर्माणका लागि ३ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । निगमको वर्तमान अवस्था, नयाँ कार्यक्रम, सातै प्रदेशमा इन्धन भण्डारण गृह निर्माण, चर्चामा रहेको अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन विस्तार र निगमको ४७ औं वार्षिकोत्सवको सेरोफेरोमा रहि कार्यकारी निर्देशक खड्कासँग गरेको कुराकानीः सम्पादक ।

gopal-1तपाइँ नेपाल आयल निगमको कार्यकारी निर्देशक भएर आएपछि के कस्ता काम गर्नुभयो ?
म आएपछि एउटा ठूलो उपलब्धि भएको छ । त्यो हो, विभिन्न बैंक वित्तीय संस्थाबाट लिएको ३६ अर्ब कर्जा भुक्तानी गरेका छौं । हामी घाटामा थियौं । अहिले नाफामा छौं । र निगमलाई करर्पोरेट सुशासनमा ल्याउने काम भएको छ ।

वीरगञ्ज–अम्लेखगञ्ज पाइपलाइनको काम कहाँ पुग्यो ?
२० वर्षवर्षदेखि सपनाको रुपमा रहेको यो प्रोजेक्ट म निगममा आएपछि एउटा (एमयू) सहमति–पत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको छ । यो अहिले काम अगाडि बढेको छ । हामीले त्यही स्थानमा कार्यालय स्थापना गरेका छौं र नेपाल सरकारले जग्ग उपलब्ध गराउने कार्य सुरुमा भएको छ । यो प्रोजेक्ट अब सुरु हुने र समय मै पूरा हुने देखिन्छ । यो बनेपछि नेपालमा सस्तो मूल्यमा र छिटो तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध हुने प्रष्ट छ ।

विगतको नाकाबन्दी र आमहड्तालको वेला निगम पटक÷पटक विवादमा प¥यो तर पनि पेट्रोलियम पदार्थ ग्राहकले पाए यसलाई कसरी समिक्षा गर्नुहुन्छ ?
हामी पेट्रोलियक पदार्थ उपलब्ध गराउने एउटै मात्र संस्था भएकाले केही असहज भएको थियो । जे जति उपलब्ध भयो, त्यसलाई समानुपातिक ढंगले हामी सबै निकाय र उपभोक्तालाई दियौं । डिमान्ड धेरै आए । तर अब आगामी दिनमा यस्तो अवस्थामा आउन नदिन र डिपोहरुलाई आधुनिक रुपमा निर्माण गर्ने योजना छ । माग अनुसारको पेट्रोलियम पदार्थ उपलब्ध गराउने र उपभोक्तालाई सहजै उपलब्ध गराउने नीति निर्माणमा म लागेको छु ।

डिपोहरु आधुनिकिकरण गर्ने भन्नुभयो । कहाँ–कहाँ गर्ने नेपाल भरी कि उपत्यकामा मात्रै हो ?
अहिले हामीसँग भएका डिपोहरुको क्षमता बढाउने र आधनीकिकरण गर्ने काम पहिला गर्दछौं । ७ वटा प्रदेशमा इन्धन डिपो बनाउने प्रक्रिया सुरु गरी सकेका छौं । अहिले जग्गा खरिद गर्ने प्रक्रिया सुरु भएको छ । त्यस पछि निर्माणको टेण्डर हुन्छ र निर्माण हुन्छ । यो भएपछि इन्धन संकट भएको अवस्थामा पनि ९० दिन (तीन महिना) पुग्ने पेट्रोलियम पदार्थ राखेका क्षमता बढाउने छौं ।

तपाइँ इन्जिनियर पढेको मान्छे धेरै वर्ष सडक विभागमा काम गर्नुभयो । सडक बनाउनु भयो । अहिले निगमको प्रमुख पदमा हुनुहुन्छ । अब निगम बनाउने प्रमुख योजनाहरु के छन् त?
हामी आयल निगम लिमिटेडलाई चुस्त, दुरुस्त बनाउने आधुनीकिरण गर्दै लैजाने छौं । अर्को स्टोर क्षमता बढाउने काम गर्दछौं । आयल निगमले अरु क्षेत्रको व्यापार व्यवसाय गर्ने जस्तोः– हामीसँग भएको पैसा कुनै प्रोजेक्टमा लगानी गर्ने योजना छ । अहिले हामीले बुढिकण्ठ प्रोजेक्टमा १० अर्ब रुपैयाँ लगानी गरेका छौं । त्यस्तै अरुमा गर्न सकिन्छ र अर्को के हो भने हामीसँग भएको रकम नयाँ के कस्ता प्रोजेक्टमा लगानी गर्ने हो त्यसको अध्ययन गरिरहेका छौं ।

तपाइँ आयल निगममा प्रमुख भएर आएपछि विभिन्न बैंकर वित्तीय संस्थावाट लिएको ३६ अर्ब कर्जा तिर्नुभयो । अब कर्मचारीलाई बोनस खुवाउने कुरा कहाँ पुग्यो ?
अब संस्था नाफामा गएपछि संस्थाको नियमावली अनुसार कर्मचारीले बोनस पाउने कुरा त छँदैछ । हामीले के चाहेका छौं भने हामी अरु चुस्त दुरुस्त भएपछि हाम्रा आधुनीकिकरणका काम सम्पन्न भएपछि मात्रै बोनस खुवाउने बारेमा सोच्ने छौं । अहिले नै खुवाइहाल्ने कुरा छैन ।

यो सरकारी स्वामित्व भएको संस्था पेट्रोलियम पदार्थ प्राइभेट कम्पनीलाई दिने कुरा थियो । यो कहाँ पुग्यो नि ?
हामी हाम्रो संरचना सुधार गर्दै जाने छौं । बीचमा प्राइभेट कम्पनी आएपनि हामीलाई केही फरक पर्दैन । हामी हाम्रो सेवा र गुणस्तरमा संवेदनशील भएर अगाडि बढेका छौं । अरु आएपनि आयल निगमलाई केही फरक पर्दैन ।

तपाइँ आएपछि निगम नाफामा गयो । ३० अर्ब कर्जा तिर्नुभयो तर बजारमा गुनासो छ, अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै भएपनि नेपालमा मूल्य समायोजन भएन भनेर यसमा के भन्नुहुन्छ ?
यो उपभोक्ताले यसरी बुझ्नु जरुरी छ, हामीले भारतीय आयल निगमसँग खरिद गर्ने हो । ऊसँगको सरसल्लाह र उसको मूल्यमा हामी आधारित छौं । त्यसकारण हामी अन्तर्राष्ट्रिय बजारको मूल्यमा मूल्य समायोजन गर्न सक्दैनौं । हाम्रो स्रोत भनेको भारतीय आयल निगम हो । हामीले ऊसँग मात्रै खरिद गरेको अवस्था छ । अब विश्व बजारवाट हामीले पेट्रोलियम ल्याउने अवस्था आयो भने मात्रै विश्वबजारको जस्तो मूल्य समायोजन गर्न सकिन्छ । भारतमा भन्दा हाम्रो नेपालमा मूल्य कम छ ।

भारतमा पेट्रोलियम पदार्थ मंहगो भएको, भारुका हजार र पाँच सयका नोट अभाव हुने वा नेपालवाट लैजाने कुरा छ नि के हो ?
अहिले तपाइन्ले भने जस्तो अवस्था छैन । नेपालमा अहिले डिमान्ड बढेको अवस्था छ । हामीले सप्लाई पनि गरेका छौं । भारतमा चाँही स्थानीय कर बढी भएका कारण मूल्य बढेको हो । केही तेल भारत फर्केर जाने र ट्याक्टरले तेल भरेर जाने कुरा हुन सक्दछ । अरु कुनै सप्लाइमा समस्या छैन ।gopal-2

विगतका केही कुरा छुट्याऊः विगतका नाकाबन्दी र आम हड्तालमा तपाइँले उपभोक्तालाई दिएको सेवावाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यसमा म सन्तुष्ट हुने भन्दा पनि जस जसले तेल उपभोग गर्नुभयो, उहाँहरु सन्तुष्ट हुनु नै हाम्रा लागि ठूलो कुरा हो । त्यस बेलाको संवेदनशील अवस्थामा पनि हामीसँग भएको पेट्रोलियम पदार्थ हामीले समानुपातिक रुपमै वितरण गरेका थियौं । भनेजस्तो सबैलाई पुगेन होला तर पनि हामी उपभोक्ताको हितको पक्षमा काम गरिरहेका थियौं । आगामी दिनमा यस्ता हुन दिदैनौं ।

निगम सरकारी स्वामित्व भएको संस्था, यसमा राजनीतिक दबाब होला । तर पनि तपाइँले ३६ अर्ब कर्जा तिर्नुभयो र निगमलाई व्यावस्थित बनाउँदै अगाडि बढाउनु भएको छ । यस्ता काम गर्दा राजनीतिक दबाब आउला नि ?
मैले अगाडि भनेको छु, आयल निगममा आधुनीकिकरण गर्ने कुरा छ । यो भएपछि राजीतिक दबाब आउने देखिँदैन । सबै ठीक भएर जान्छ । हामी आन्तरिक रुपमा सक्षम हुनुपर्दछ र डिपो व्यवस्थित बनाएर पेट्रोलियम पदार्थ सहज भयो भने हुने दबाबले केही फरक पार्दैन ।

सरकारले आयल निगमलाई के कस्तो सहयोग वा निर्देशन दिनु पर्दा यी तपाइँका योजना सफल बनाउन ?
अरु भन्दा पनि सरकारले स्पष्ट नीति निर्देशन दिनुप¥यो । हामीलाई सहजता पनि चाहियो प्रष्ट निर्देशन दिनुपर्यो । बोर्डलाई सुधार गर्ने कुरा छ यी राम्रो हुनुपर्यो ।

चीनवाट पेट्रोलियम पदार्थ ल्याउने कुरा चाँही कहाँ पुग्यो नि ?
इन्धन चीन मात्रै होइन सबै देशबाट ल्याउनु जरुरी छ । यसको गृहकार्य हामी गरिरहेका छौं । अवश्य पनि वैकल्पिक रुपमा इन्धन चीनबाट आउन सक्छ । यसमा सरकार पनि लाग्नुप¥यो ।

इन्धन तस्करी रोक्न निगमले के गरिरहेको छ ?
इन्धन तस्करी रोक्न नेपाल आयल निगमले मात्र नभएर सरकारले यसको अनुगमन गरिरहेको छ । भारत भन्दा नेपालमा डिजेल पेट्रोलको मूल्य सस्तो भएकाले पनि बाहिर जाने गर्छ । सीमा नाकाबाट बाहिर जाने इन्धनलाई रोक्नका लागि सरकारले अनुगमन समिति गठन गरेर त्यसको अनुगमन गरिरहेको छ, जसका कारणले अहिले बाहिर जान कम भइरहेको छ । खुला नाका भएकाले पनि त्यसलाई पुरै नियन्त्रण गर्न कठिन छ ।

इन्धन चुहावट नियन्त्रण गर्न के गर्दै हुनुहुन्छ ?
चुहावट हुने कुरा स्वाभाविक हो । यति नै इन्धन चुहावट हुन्छ भन्ने तथ्यांक नभए पनि प्राविधिक कारणले पनि चुहावट हुने गर्छ । यसलाई नियन्त्रण गर्न लागिरहेका छौं । मानवीय कारण हुने चुहावटलाई नियन्त्रण गर्दै जानुपर्छ । चोरी नियन्त्रण कम गर्न ट्यांकरहरूमा लकिङ र जीपीएस प्रणाली लागू गर्दै छौं । केही ट्यांकर लकिङ गरेर आइसकेका छन् ।

इन्धनको गुणस्तर कायम गर्न निगमले के गरिरहेको छ ?
आईओसीबाट जुन गुणस्तरको तेल पाउँछौं, त्यही तेल हामीले जस्ताको त्यस्तै वितरण गर्ने गर्छौं । निगमले पनि गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्छ ।

इन्धन खपत कम गर्न उपभोक्तामाझ कुनै कार्यक्रम सञ्चालन गर्नुभएको छ ?
इन्धन खपत कम गराउन उपभोक्तालाई विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं । इन्धनको खपत बढ्दै जाँदा आर्थिक भारसँगै वातावरणलाई प्रत्यक्ष असर पार्ने हुँदा वैकल्पिक ऊर्जामा जोड दिनु आवश्यक छ । सरकारले सार्वजनिक यातायातका ठूला–ठूला सवारी सञ्चालन गर्नुप¥यो । निजी कार कम चलाउनुप¥यो । अन्य वैकल्पिक इन्धनका स्रोत–साधनको उपयोगमा जोड दिनुपर्यो ।

डिपोको क्षमता बढाउन के के गर्नु पर्ला ?
मैले अघि नै भने डिपोलाई आधुनीकिकरण गनुप¥यो । इन्जिनियरिङ रुपमा विकास गर्दै लैजानु जरुरी छ ।

४७ औं वार्षिकोत्सवको अवसरमा तपाइँका कर्मचारी आम उपभोक्ता र शुभचिन्तकलाई के भन्नुहुन्छ ?
उपभोक्ताले आमहड्ताल र नाकाबन्दीमा हामीलाई जसरी साथ दिनुभयो उहाँहरुलाई म धन्यवाद दिन्छु । यस्तै कर्मचारीले आपतकालीन बेलामा आ–आफ्नो ठाउँबाट सहयोग गरी आपूर्ति सहज बनाउनु भयो । त्यस बेला हामीसँग कुनै योजना थिए । अब त्यस्तो बेला त्यो अवस्था हुन हामी दिदैनौं । आयल निगमलाई अझै सेवामुखी, जनमुखी बनाउने प्रयासमा छौं । ग्यास जस्ता कुरामा हामी संवेदनशील भएर अगाडि बढेका छौं ।

gopal-with-bhupendraअन्त्यमा के बाँकी होला ?
अन्त्यमा हाम्रो यो ४७ औं वार्षिकोउत्सवमा पुगेका छौं । निगमले अब सेवामा नयाँ फड्को मानु पर्ने बेला आएको छ र हामी अगाडि बढ्ने छौं । उपभोक्तालाई पेट्रोलियम पदार्थमा अभाव, त्रास र दुखी हुन दिने छैनौं । ४७ वर्ष पुगेको मान्छे जस्तै गरी निगमलाई एउटा अभिभावकको भूमिकाबाट अगाडि बढाउने र जस्तै आपत् विपत् आए पनि तेल, ग्यास, हवाई इन्धन, सहज रुपमा उपभोक्ता माँझ पु¥याउने कार्यमा म र मेरो व्यवस्थापन टिम लाग्ने प्रतिज्ञा गरेर अगाडि बढेको छु ।आर्थिक बजार मासिक

3975
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर