सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • बेथान्चोक गाउँपालिकामा कोसेली घर स्थापना

बेथान्चोक गाउँपालिकामा कोसेली घर स्थापना

महिलाको सशक्तिकरणतर्फ महत्वपूर्ण कदम

515
Shares
बेथान्चोक गाउँपालिकामा कोसेली घर स्थापना

काभ्रेपलाञ्चोक । बेथान्चोक गाउँपालिकामा गृहिणी महिलाको सशक्तिकरण गर्ने उद्देश्यका साथ ‘बेथान्चोक कोसेली घर’ स्थापना गरिएको छ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र वेथान्चोक गाउँपालिकाको सहकार्यमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत उक्त कोसेली घर सञ्चालनमा आएको हो।

कोसेली घरको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले गर्नुभयो। उद्घाटनपछि उहाँले महिला सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै भन्नुभयो, “स्थानीयस्तरमा महिलाहरूलाई आत्मनिर्भर बनाउन र उत्पादनलाई बजारसम्म पुर्याउन कोसेली घर महत्वपूर्ण माध्यम बन्नेछ। यसलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ।”

कार्यक्रममा बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय महिलाको आर्थिक सबलीकरण र आत्मनिर्भरता गाउँपालिकाको प्राथमिक एजेन्डा भएको बताउनुभयो। उहाँले भन्नुभयो, “गृहिणी महिलालाई उत्पादनमूलक कार्यमा संलग्न गराउन र बजारसम्म पहुँच दिलाउन यो कोसेली घर महत्त्वपूर्ण कदम हो।”

उपाध्यक्ष तारा राणा तिमल्सिनाले महिलाले उत्पादन गरेका सामग्रीलाई स्थायी बजार उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उक्त कोसेली घरमार्फत स्थानीय महिलाहरूले उत्पादन गरेका सामग्री प्रदर्शन र बिक्री गर्न सक्नेछन्। यसले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र महिलालाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, महिला समूह र ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। सहभागी महिलाहरू परम्परागत पोशाकमा सजिएर उपस्थित भएका थिए।

यस कोसेली घरमार्फत स्थानीय परिकार, हस्तकला र कृषिजन्य उत्पादनलाई प्राथमिकता दिइने बताइएकाे छ।

515
Shares

ट्रेन्डिङ