सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दाउरा छाडेर ग्यासको प्रयोग

दाउरा छाडेर ग्यासको प्रयोग

3620
Shares
दाउरा छाडेर ग्यासको प्रयोग

टुकुचा नाला– ७ घिमिरेगाउँका सावित्री घिमिरे अहिले धुवाँको समस्याबाट मुक्त हुनुहुन्छ । दाउरा छाडेर ग्यासको प्रयोग गर्न थालेपछि उहाँले धुवाँको समस्याबाट मुक्ति पाउनुभएको हो ।
“धुवाँको समस्याले खाना पकाउन निकै सास्ती हुन्थ्यो, त्यही भएर ग्यास प्रयोग गर्न थालेकी हुँ,” उहाँले भन्नुभयो । ग्यासको प्रयोग गर्न थालेपछि श्वासप्रश्वाश सम्बन्धी रोगबाट समेत मुक्ति पाइएको उहाँको भनाइ छ । ग्यासको प्रयोगबाट उहाँको समयको समेत बचत हुन थालेको छ ।
अस्वस्थ भएका समयमा खाना नपाइकनै बस्ने उहाँले ग्यासको प्रयोग गर्न थालेपछि भोकै बस्नुपरको छैन ।
घिमिरे दाउरा खोज्न एक घण्टा हिँडेर जङ्गल जानुहुन्थ्यो । गाउँमा सबैले ग्यासको प्रयोग गर्न थालेपछि उहाँ पनि ग्यासप्रति आकर्षित हुनुभएको हो ।
स्थानीय अनिता घिमिरे दाउरा बालेर खाना पकाउँदा टाउको दुख्ने समस्या देखा परेपछि उक्त समस्याबाट छुटकारा पाउन ग्यासको प्रयोग गर्न थाल्नु भएको छ । गाउँमा ग्यासको प्रयोग गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । एक त सुविधाको हिसाबले पनि गाउँका बासिन्दा ग्यासको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् भने जङ्गलबाट दाउरा ल्याउदा लाग्ने ढुवानी खर्चको दाजोमा ग्यास किन्न सस्तो पर्छ ।
“जङ्गलबाट दाउरा ल्याउन एक पटकमा कम्तीमा रु १५ हजार खर्च हुन्छ । उक्त दाउरा दुई महिनालाई पनि पुग्दैन,” घमिरेले भन्नुभयो । एक महिनालाई पुग्ने दाउरा किन्ने खर्चले एक वर्षभन्दा बढी समयलाई पुग्ने यास किन्न सकिने घिमिरे बताउनुहुन्छ ।
आफू शारीरिक रुपमा अस्वस्थ भएकाले जङ्गल जान नसक्ने तथा दाउरा ल्याउने मान्छे नभएका कारण ग्यासलाई विकल्पका रुपमा रोजेको उहाँले बताउनुभयो । अहिले गाउँका पसलमा पनि ग्यास बिक्री हुन थालेपछि बजारबाट ग्यास ल्याउनुपर्ने अवस्था नरहेको र गाउँमा ढुवानीको राम्रो सुविधा भएकाले ग्यास ल्याउन खासै कठिन नरहेको घिमिरे बताउनुहुन्छ ।
गाउँमा गाईवस्तुको लागि आहारा बनाउन बाहेक घरायसी काममा ग्यासको नै प्रयोग हुन थालेको छ । गाईवस्तुको कुडो पकाउन ग्यासमा नमिल्ने भएपछि दाउराको प्रयोग गर्नुपरेको स्थानीयवासी कविता घिमिरेले बताउनुभयो ।
दाउराको प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले ग्यासको प्रयोग बढ्न थालेको स्थानीय स्वास्थ्य स्वयम्सेविका दुर्गा घिमिरे बताउनुहुन्छ । दाउराको प्रयोगका कारण विभिन्न रोग लाग्न थालेपछि स्थानीयले ग्यासको प्रयोग अत्यधिक रुपमा गर्न थालेका उहाँको भनाइ छ । उक्त गाउँमा करिब ३०० घरधुरीको बासस्थान रहेको छ । ग्यास पसले रामेश्वर घिमिरे गाउँमा ग्यासको प्रयोग बढ्न थालेको बताउनुहुन्छ । रासस (मीना घोरसाइने)

3620
Shares

ट्रेन्डिङ