सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

तेत्तीस लाखको चिज बिक्री

2615
Shares
तेत्तीस लाखको चिज बिक्री

घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा रु ३३ लाखको चिज बिक्री गरेको छ । हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघ महिनासम्म चार हजार ४०० किलो चिज बिक्री गरेको हो । प्रतिकिलो रु ७५० का दरले चिज बिक्री गरेको सो संस्थाका अध्यक्ष नारायण बरुवालले जानकारी दिनुभयो ।
सो अवधिमा उद्योगमा दूध बिक्री गर्ने कृषकले रु ३० लाख भुक्तानी पाएका छन् । विसं २०७१ वैशाखदेखि सञ्चालित उक्त उद्योगले स्थानीय कृषकले उत्पादन गर्ने दूध खपत गर्दै आएको छ । हाल ४५ कृषकले दैनिक एक सय लिटर दूध उद्योगलाई बिक्री गर्दैआएका छन् ।
कृषकबाट गुणस्तर अनुसार प्रतिलिटर रु ५० देखि रु ५५ का दरले दूध खरिद गरिन्छ । दूध बेचेर एकजना कृषकले मासिक रु पाँच हजारदेखि रु २५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । सो उद्योगले मासिक ३० किलो घ्यू समेत उत्पादन गर्दै आएको छ ।
सो उद्योगमा उत्पादित चिज पर्यटकीयस्थल घोडेपानी, तातोपानी, कास्कीको टाडापानी, पोखरा र मुस्ताङको जोमसोममा खपत हुने गरेको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेकाले उत्पादित चिज नष्ट गर्नुपर्दा निराश भएका कृषक यस वर्ष माग बढेपछि उत्साहित बनेका छन् । रासस

2615
Shares

ट्रेन्डिङ