सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नायक आर्यन सिग्देलसँग बिहे गर्न कुरेर बस्ने कति छन् ?

नायक आर्यन सिग्देलसँग बिहे गर्न कुरेर बस्ने कति छन् ?

4390
Shares
नायक आर्यन सिग्देलसँग बिहे गर्न कुरेर बस्ने कति छन् ?

आर्यन सिग्देल नेपाली चलचित्र जगत्का चर्चित नायक हुन् । चलचित्र ‘किस्मत’बाट फिल्मी करिअर सुरु गरेका सिग्देलले दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन् । लामो समय चलचित्र क्षेत्रमा बिताएका आर्यनका थुप्रै फ्यान छन् । जसमध्ये कतिपय त उनले भुलिसके पनि । सम्झनामा रहेका केही फ्यानबारे उनले गज्जबलाई सुनाएका छन् ।
केटीले पठाएको चिठी बुवाले फेला पारेपछि…
मलाई त्यति धेरै चिठी त आएनन् । किनकि मेरो समयमा सामाजिक सञ्जाल व्यापक रूपमा फैलिसकेको थियो । तर, एक दिन एकजना केटीले मलाई मन पराउँछु, माया गर्छुजस्ता कुरा लेखेको चिठी मेरो घरमा आयो जुन चिठी मेरो बुवाको हातमा पर्यो । त्यस्तो चिठी आउँदा पनि मलाई बुवामम्मीले केही भन्नुभएन । जुन चिठी अहिले पनि घरमा सुरक्षित छ ।
मेरो हस्ताक्षरको ट्याटु हान्ने फ्यान
पश्चिममा एकजना मेरो फ्यान हुनुहुन्छ । उहाँले आफ्नो हातमा मेरो हस्ताक्षरको ट्याटु हान्नुभएको रहेछ । मेरो साथीले मलाई त्यसको फोटो खिचेर पठाएको थियो । त्यो देख्दा मलाई गर्व महसुस भएको थियो । तर, मैले त्यस्ता फ्यानलाई प्रत्यक्ष भेटेको छैन । त्यही नमज्जा लागेको छ ।
बिहे गरेपछि जसले गाली गरिन्
म एक दिन दरबारमार्गमा साथीसँग कुराकानी गरेर बसिरहेको थिएँ । जुन वेला मैले भर्खरै बिहे गरेको थिएँ । त्यही समयमा एकजना भावना नाम गरेकी केटी आएर किन बिहे गरेको भनेर मसँग झगडा गर्नुभयो । वास्तवमा उहाँले मलाई निकै मन पराउनुहुँदो रहेछ ।
अहिलेसम्म बिहेका लागि कुरेर बस्ने केटीहरू
पोखरामा एकजना केटी फ्यान हुनुहुन्छ । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदोरहेछ । उहाँलाई म निकै मन पर्दोरहेछु । त्यति मात्र नभएर उहाँले मसँगै जीवन बिताउने कुरा पनि सोच्न भ्याइसक्नुभएछ । मैले बिहे गरिसकेँ । तैपनि उहाँ अझै मेरा लागि कुरिरहनुभएको छ । त्यस्तै, बुटवलमा पनि एकजना युवती हुनुहुन्छ । म उहाँको नाम भन्न चाहन्न । उहाँ पनि मैसँग बिहे गर्ने भनेर अहिलेसम्म बिहे नगरी बस्नुभएको छ । मैले बिहे गरिसकेँ, म अब कसैको हुन सक्दिनँ । त्यसैले बिहे गर्नुहोला भन्न चाहन्छु ।
फोन नउठाउँदा घुक्र्याउने फ्यान
म मोबाइलमा सेफ नभएका नम्बर कहिल्यै रिसिभ गर्दिनँ । त्यसैले गर्दा मेरा फ्यानहरूले फोन नउठ्दा कहिलेकाहीँ ‘तँ हिरो भएँ भन्दैमा घमन्डी भको, तँ ठूलो भको, हाम्रो फोन उठाउन हुँदैन’ भन्नेजस्ता मेसेज गरेर घुक्र्याउने पनि हुनुहुन्छ । उहाँहरूले त्यस्तो मेसेज गर्दा आफूलाई नरमाइलो लाग्छ । तर, कतिपय अनावश्यक फोन आउने हुँदा म फोन रिसिभ गर्दिनँ । यो कुरा फ्यानहरूले पनि बुझ्नुपर्छ ।
फेक आइडीबाट सरिता लामिछानेलाई म्यासेज
मेरो एक सयभन्दा बढी फेक आइडी छन् । जसले गर्दा मलाई हैरान बनाउँछन् । एक दिन फेक आइडीबाट ऋषि लामिछाने दाइको श्रीमती सरिता भाउजूलाई तेरो बूढो यस्तो उस्तो भनेर मेसेज पठाएछ । त्यसपछि त ऋषि दाइले मलाई रिसाएर फोन गर्नुभयो । त्यसपछि मलाई तनाव भो । अनि मैले दाइलाई राम्रोसँग सम्झाएपछि उहाँले बुझ्नुभयो । त्यसैले यस्ता फ्यानले मलाई हैरानै बनाएका छन् ।
वृद्धवृद्धा मेरा फ्यान
म कहिलेकाहीँ वृद्धाश्रमहरूमा जाने गर्छु । त्यहाँ जाँदा त्यहाँका बूढा बा–आमाहरूले आफ्नै सन्तानजस्तो ठान्नुहुन्छ । कतिपयले त आफ्नै छोरो देखेजस्तो लाग्यो भनेर आँसु नै चुहाउनुहुन्छ । जुन वेला म भक्कानिन्छु ।
मेरै लागि मोही बनाएर राख्ने ती बुढीआमा
म ‘सुश्री’ चलचित्रको सुटिङका लागि हेटौँडाबाट नजिकैको गाउँमा गएको थिएँ । त्यहाँ बाटोमा एकजना बुढीआमाको घर छ । मलाई मोही निकै मनपर्ने । उहाँले मलाई मोही मनपर्छ भनेर कहिलेकाहीँ घरमै बनाउनुहुँदो रहेछ । यदि घरमा छैन भने गाउँबाट मागेर भए पनि मलाई मोही खुवाउनुहुन्थ्यो । यदि मैले मोही नखाए उहाँ रिसाउनुहुन्थ्यो ।
मलाई छुन नपाएर रुने फ्यान
म पहिलोपटक पश्चिमको एउटा महोत्सवमा गएको थिएँ । त्यहाँ हजारौँ मानिसको भिड थियो । जहाँ मलाई छुनै नपाएर एकजना रुने फ्यान पनि भेटेँ । उहाँ मलाई छुनकै लागि भिडमा आउन खाज्नुहुँदो रहेछ, तर आउन नसक्दा डाको छाडेर रुनुभएको देखेँ । कतिपय मलाई छुनका लागि भिडमा ठेलमठेल हुँदा लडेको पनि देखेँ । त्यो देख्दा मेरो पनि आँसु थामिएन । त्यसवेलाको क्षण म कहिल्यै भुल्न सक्दिनँ ।
लभलेटर दिने हेटौँडाकी युवती
केही वर्षअघि म हेटौँडा गएको थिएँ । त्यहाँ एक युवतीले आँखाभरि आँसु पारेर मलाई लभलेटर दिएकी थिइन् । उनलाई म निकै मन पर्दोरहेछु । मैले उनको त्यो लेटर समाउँदै गर्दा तिमीले यदि मलाई प्रेमको प्रस्ताव राखेको भए त्यो म स्वीकार्न सक्दिनँ भनेँ । त्यसपछि मैले ती युवतीलाई धेरै कुरा सम्झाएर फर्काएँ । उनले दिएको त्यो चिठी मसँग अझै पनि छ ।
मलाई भेटेर रुने फ्यान
भारतमा बस्ने नेपाली मूलका एकजना नागरिकले मेरो ‘धुँवा यो नशा’ भन्ने चलचित्र हेर्नुभएको रहेछ । उहाँ मेरो निकै डाइहार्ड फ्यान हुनुहुन्छ । उहाँको नाम मैले बिर्सेँ । उहाँको एकदमै मिल्ने साथीको मृत्यु भएको थियो । मसँग भेट भएपछि आफ्नो साथीलाई सम्झेर रुनुभयो । जुनवेला मलाई निकै नरमाइलो लागेको थियो ।
सुुरुसुरुमा फ्यानले मलाई क्षितिज भनेर चिन्थे
सुरुसुरुमा मेरा सिरियलहरू हिट भएकाले गर्दा धेरैजसो मानिसले मलाई चिन्नुहुन्थ्यो । जसले गर्दा दर्शकहरूमाझ परिचित हुन मलाई कुनै समस्या भएन । मैले ‘खुसी पलभर’को सिरियलमा क्षितिज पात्रमा अभिनय गरेको थिएँ । जसले गर्दा सुरुसुरुमा मलाई धेरैजसो फ्यानले क्षितिजको नामले चिन्थे । त्यो सिरियल पारिवारिक खालको भएकाले त्यो समयमा साना बच्चादेखि वृद्धावृद्धासम्म मेरा फ्यान हुनुहुन्थ्यो ।
सेल्फी खिच्दा प्लेन छुट्यो
एक वर्षअघि भारतको मुम्बई जाँदा एयरपोर्टमा फ्यानहरु सेल्फी खिच्नका लागि लामबद्ध भए । फ्यानहरुले आग्रह गरेपछि मैले पनि नाईनास्ती गर्न सकिनँ । जसकारण मेरो प्लेन नै छुट्यो । त्यसैगरी एकपटक पश्चिम नेपाल जाँदा यस्तै भएको छ ।

4390
Shares

ट्रेन्डिङ