सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बलात्कारको प्रयास गरेको आरोपमा वडासदस्य पक्राउ

बलात्कारको प्रयास गरेको आरोपमा वडासदस्य पक्राउ

4865
Shares
बलात्कारको प्रयास गरेको आरोपमा वडासदस्य पक्राउ

भोजपुर , पुष  , ६ , दक्षिणी हतुवागढी गाउँपालिका ६ होम्ताङका वडासदस्य बालकुमार राई बलात्कार प्रयासमा पक्राउ परेका छन् । कोहि नभएको मौका छोपी बाटो छेकेर राईले स्थानीय एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

४ दिनअघि स्थानीय लुङ्कुवाकी एक स्थानीय युवतीलाई साँझ घर फर्कने क्रममा वडासदस्य राईले जबरजस्ती गर्ने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।

पीडित युवतीका परिवारले जबरजस्ती करणी गर्न खोजिएको भन्दै गत पुष ३ गते वडा कार्यालयमा निवेदन दिएका थिए। कार्यालयमा निवेदन आएपछि सत्यतथ्य बुझ्न खोज्दा पीडक नै दोषी देखिएपछि सोहि वडाका वडाध्यक्ष सागर राईले प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बूका अनुसार पीडक राईलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको छ ।अब म्याद थप गरेर अनुसन्धान र कानुनी प्रक्रिया अगाडी बढाइने उनले बताए ।

राई यसअघि जबरजस्ती करणी आरोपमा वडा कार्यालयले निलम्बन गरेको थियो । गाउँमा पनि उनको नियत राम्रो नभएको स्थानीयबासीको आरोप छ।एक स्थानीयले भने, ‘गाउँमा सुख छैन।गाउँका केटीलाई पनि दुव्र्यवहार गर्दै हिँड्छ, स्काउँ, धम्क्याउँ।’

वडासदस्यको घटनाले गाउँपालिकाको पनि ध्यानाकार्षण भएको छ । जनप्रतिनिधीबाटै भएको जघन्य अपराधमाथि तत्काल कार्यापालिकाको बैठक बसी उनमाथि कारबाही गरिने गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताए ।

यसरी भयो घटना

हतुवागढी गाउँपालिका ६ होम्ताङका लुङ्कुवाकी स्थानीय २६ वर्षीया रिता राई (नाम परिवर्तीत) दिनभर बिजुलीको पोल टांगेर साँझपख घर फर्किदै थिइन्। बाटोमा एकजना अधबैंसे पुरुष उनी आउँदै गरेको बाटोतिर आइरहेका थिए। ती पुरुष उनकै वडाका जनप्रतिनिधि थिए, बालकुमार राई । नजिक आएपछि उनले चिनिन्।

राईले केहिबेर रितालाई छेके। उनलाई ललाइफकाइ गर्न थाले। अस्वभाविक तरिकाले रिताको शरीरमा छुन थाले । साँझ छिपिएर अँध्यारो हुन लागिसकेको थियो । राईले बलपूर्वक दुर्व्यवहार गर्न थालेपछि रिता चिच्याइन् । उनी चिच्याएको सुनेपछि वरपरका आफन्त जम्मा हुनथाले।

गाउँले आएको देखेर बालकुमारले कुलेलाम ठोकिहाले । रिता रोइरहिन् । ‘घर फर्किने बेला बाटो छेके, हातपात गरे, के गर्नुभएको भन्दा उल्टै ज्यान मार्ने धम्की दिए, ‘पीडित रिताले भनिन्, ‘डर लागेपछि म कराए। मानिसको खैलाबैला भएपछि कता गयो पत्तै भएन।’

रिता घरमा आएर रातभर रोइरहिन्। राती बावुआमा बहिनीसँग घटनाको बेलीविस्तार लगाइन्। भोलिपल्टै वडासदस्य राईविरुद्ध निवेदन दिन आफ्ना बावु र बहिनीसँग वडा कार्यालयमा दर्ता गराइन्।

पीडित रिताका आफन्तले राईमाथि कडा कारबाहीको माग गरेका छन् । छोरीमाथि गलत नियत र दुव्र्यवहार गर्ने राईलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनका बाबुले माग गरेका छन् । ‘छोरीमाथि अन्याय भयो, जनप्रतिनिधि भन्ने वितिक्‍कै जे पनि गर्न पाइन्छ, कडा सजाय हुनुपर्छ,’ रिताका बाबुले भने, ‘अहिले छोडिदियो भोली अर्काको छोरीमाथि जे पनि गरिदेला, के भन्न सकिन्छ र।’

4865
Shares

ट्रेन्डिङ