सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सीमा विवादबारे भारतको यस्तो चलाखी !

सीमा विवादबारे भारतको यस्तो चलाखी !

8200
Shares
सीमा विवादबारे भारतको यस्तो चलाखी !

काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेसँगै टाढिएको भारतले सीमा विवादबारे नेपालसँग कोरोना कहरपछि गर्ने भनेर वार्ता टार्दै आएको छ । सीमा विवादबारे अर्को छिमेकी चीनसँग कुटनीतिक वार्ता थालेपछि भारतको दोहोरो चरित्र उद्घाटित भएको छ । भारतले नेपाललाई थप गलाएर मात्र वार्ता गर्ने रणनीति लिएको त होइन ?

नेपालसँग वार्ता गर्न आलटाल गरिरहेको भारतले चीनसँग भने सीमा विवादलाई नै लिएर वार्ता गरेको छ । २ नोभेम्बर २०१९ नेपालको लिपुलेक क्षेत्रलाई गाभेर आफ्नो नक्सा प्रकाशित गरेको भारतले करिव सात महिनापछि भारतीय रक्षामन्त्रीले सोही क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपाल–भारत सीमा विवाद चर्किन थाल्यो ।

भारतीय कदमप्रति असहमति जनाउदै नेपालले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति पनि प्रस्ताव गर्‍यो । तर भारतले नेपालको प्रस्ताव टार्दै आएको छ ।

भारतीय मिचाहा प्रवृत्ति विरुद्ध नेपालमा जनदबाब बढेपछि सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्‍यो । भारतले नेपालको कदम स्वीकार नगर्ने प्रतिक्रिया जनायो । त्यसपछि लगातार नेपालले भारतसँग वार्ताको प्रयास गरिरहेको छ ।

यतिमात्र होइन, प्रधानमन्त्री केपी ओलीको दूत बनेर पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले वार्ताको माहौल बनाउन नेपालस्थित भारतीय दुतावासमा पुगेर राजदुतसँग आग्रह पनि गरे । नेपाल सरकारका प्रयासहरुले अझै साकार रुप लिएको छैन ।

यहीबीच भारत र चीनको विवादित क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच तनाव भयो । फलस्वरुप भारतले चीनसँग सैनिक तहमा कोरोना कहरकै बीचमा वार्ता गरेको छ । वार्ता सकारात्मक भएको संन्देश प्रवाहित भएको छ ।

तर नेपालसँग भारतले वार्ताको कुनै छनक दिएको छैन । कुटनीतिज्ञ डा. दिनेशचन्द्र भट्टराई भारतले कोरोना संकटबीच पनि नेपालसँग वार्ता गर्न सक्ने ठान्छन् । तर, भारतले वार्तामा किन आलटाल गरिरहेको होला त ? डा. भट्टराई नेपाललाई गलाउने रणनीतिमा भारत लागेको आशंका गरे ।

भारतका उच्च अधिकारीहरुले नेपालसँग वार्तामार्फत नै सीमा समस्या समाधान गर्ने बताइरहेका छन् । तर महिनौ बित्दा पनि छिमेकी मुलुकसँग वार्ता गर्न अनिच्छा देखाउनुले भारतले नेपालसँगको सीमा विवादलाई अन्य मुद्दासँग जोडेर मोलमोलाई गरिरहेको हुन सक्ने तर्कलाई अन्यथा लिन मिल्दैन ।
-ईमेज

8200
Shares

ट्रेन्डिङ