सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नयाँ नक्साविरुद्ध सरिता गिरी, दर्ता गराइन् संशोधनको सूचना

नयाँ नक्साविरुद्ध सरिता गिरी, दर्ता गराइन् संशोधनको सूचना

4880
Shares
नयाँ नक्साविरुद्ध सरिता गिरी, दर्ता गराइन् संशोधनको सूचना

काठमाडौँ, २८ जेठ: भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संसद सचिवालयमा संशोधनको सूचना नै दर्ता गराएकी छन्।

नयाँ नक्सा जारी गर्दा भारतलाई सोध्‍नुपर्ने तथा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय भूमि रहेको विवादित अभिव्यक्ति संसदमै दिँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा ‘नेपालको नक्सालाई संशोधन गर्न बनेको विधेयक’विरुद्ध संशोधनको सूचना दर्ता गराएकी हुन्। संसद सचिवालयमा दिइएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन आग्रह गरिएको छ।

उक्त विधेयको दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी सरकारले विधेयक प्रस्तुत गरिसकेको छ। विधेयकमा संशोधन दर्ता गराउन मंगलबार साँझदेखि ७२ घण्टाको समय दिइएको छ। उनले संसद सचिवालयमा दर्ता गराएको संशोधनको सूचनामा स्रोत र प्रमाणबिना नेपालको नयाँ नक्सा जारी भएको जिकिर गरेकी छन्।

गिरीले निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक खारेज गर्न मागसहित संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएकी हुन्। उनको दल जनता समाजवादीले भारतले हडपेको भूमि समेटिएको नक्सालाई आधिकारिकता दिने गरी संसदमा दर्ता भएको संशोधन विधेयकमा समर्थन जनाइसकेको छ।

उक्त विधेयकमा मंगलबार भएको छलफलमा पनि जनता समाजवादीका सांसद लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गर्दै नक्सा संशोधनसम्बन्धी विधेयकमा दलको पूर्ण समर्थन रहेको बताएका थिए। संसद सचिवालयले रेकर्ड गराएको भिडियोमा सिरहाको लहान स्थायी घर बताउँदै आएकी गिरीले नेपाल सरकारको कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी छन्।

उनको यो अभिव्यक्तिपछि सांसद गंगा चौधरीले कडा प्रतिक्रिया दिँदै भारतीय चेलीहरुलाई ठेगानमा राख्नुपर्ने बताएकी थिइन्। बधुबार मात्रै सत्तारुढ नेकपा र कांग्रेसनिकट भातृसंगठनले सरिता गिरीको अभिव्यक्ति आपत्तिजनक भन्दै उनीमाथि देशद्रोहको मुद्दा चलाउन माग गरेका थिए।

4880
Shares

ट्रेन्डिङ