सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • कहिले आउला एसइईको नतिजा? मन्त्रालयकै कारण ढिला भएको आरोप

कहिले आउला एसइईको नतिजा? मन्त्रालयकै कारण ढिला भएको आरोप

6325
Shares
कहिले आउला एसइईको नतिजा? मन्त्रालयकै कारण ढिला भएको आरोप

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले साउन १६ गते एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा २० गते मंगलबार सम्ममा प्रकाशित हुने जानकारी दिए। त्यस दिन नतिजा प्रकाशित हुन्छ कि भन्दै विद्यार्थी पखाईमा रहे। तर, नतिजा प्रकाशित हुन सकेन।

फेरि शर्माले मंगलबार सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भन्दै आगामी बिहीबारसम्ममा नतिजा प्रकाशित गर्ने बताए। उनले गत मंगलबार भनेका थिए,‘भोलि बोर्ड बैठक बस्दै छौँ। त्यसपछि कहिले प्रकाशित हुनेछ निर्णय हुन्छ। बिहीबारसम्ममा नतिजा प्रकाशित हुने सम्भावना धेरै छ।’ तर, उनले भनेअनुसार बोर्ड बैठक बस्न सकेन। फेरि नतिजा प्रकाशित मिति पछि धकेलिएको छ।

उपनियन्त्रक शर्माले फेरि यो साताभित्रमा मात्रै एसइई परीक्षाको नतिजा प्रकाशित गरिने बताए। ‘आज बोर्ड बैठक बस्ने भनिएको थियो,’उनले भने,‘तर, बैठक स्थगित भयो। अबको यो साताभित्रमा नतिजा प्रकाशित हुन्छ।’ उनले कसरी नतिजा प्रकाशित गर्ने भनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी नगराउँदा बारम्बार मिति सरेको उनी बताउँछन्।

उनले भने,‘नतिजा प्रकाशितको लागि सबै तयारी छ। तर, कसरी नतिजा प्रकाशित गर्ने भन्नेबारे शिक्षा मन्त्रालयले केही जानकारी दिएको छैन। मन्त्रालयबाट निर्णय आएपछि नतिजा प्रकाशित हुन्छ।’ बोर्डका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

6325
Shares

ट्रेन्डिङ