सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • दोलालघाटको समानन्तर क्रसरद्वारा ब्यापक कर छलि

दोलालघाटको समानन्तर क्रसरद्वारा ब्यापक कर छलि

13770
Shares
दोलालघाटको समानन्तर क्रसरद्वारा ब्यापक कर छलि

धुलिखेल, १ असोजः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० दोलालघाट स्थित सुनकोशी नदीको बालुवामा लाखौँ कर छलि भएको पाइएको छ । सुनकोशी किनार स्थित बरबोटमा रहेको समानन्तर निर्माण सेवा प्रा।लि ले कर छलि गरेको हो ।

असार मसान्तमा अघिल्लो आर्थिक वर्ष लागेको ठेक्का बैधानिक रुपमा सकिएको छ । तर समानन्तर क्रसर उद्योगले लामा निर्माण सप्लार्यसको नाममा बील काटेरर लाखैँको कर छलि गरेको हो । नयाँ आर्थिक वर्ष सुरुभएपछि अर्को ठेक्का नलाग्दासम्म गाउँपालिकाको रसिद काट्नु पर्नेमा समानन्तर क्रसर उद्योगले लामा निर्माण सप्लार्यसको नाममा रसिद काटेको पाइएको हो । लामा निर्माण सप्लार्यसले अघिल्लो आर्थिक वर्षमा समानन्तर अघिको बगरको ठेक्का पाएको थियो ।

पालिकाले साउन १ गते नै नयाँ रसिद उपलब्ध गराउनु पर्ने थियो । तर पालिकाले नै साउन ५ गतेमात्रै नयाँ रसिद उक्त क्रसरलाई उपलब्ध गराएको स्थानीयले बताएका छन् । गाउँपालिकाले रसिद उपलब्ध गराइसकेपछि पनि समानन्तर क्रसरले आफ्नै रसिद काटेर ठूलो कर छलि गरेको स्थानीयहरुले दाबी गरेका छन् । समानन्तरले लगभग एक महिना २५ दिन लामा निर्माण सप्लार्यसको नाममा रसिद काटेको छ । ‘एक त गाउँपालिकाले समयमै रसिद उपलब्ध गराएन, गराइसकेपछि पनि क्रसर उद्योगले आफ्नै बील काटि रह्यो, नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने ‘हामीले पटक पटक छड्के जाँदा गर्दा पनि यस्तै भेट्यौ ।’

नाम उल्लेख नगर्ने ती स्थानीयका अनुसार भदौ २८ र ३१ गते छड्के जाँच गर्दा पनि लामा सप्लार्यसकै नाममा रसिद काटिएको थियो । दोलालघाटको प्रहरीलाई समेत स्थानीयले अवैध रुपमा निर्माण सामग्री निकासी भइरहेको जानकारी गराएका थिए । तर प्रहरीले समेत कुनै चासो नदिएको ती स्थानीयको भनाई छ । समानन्तरले साउन १ देखि यताको गाउँपालिकामा कुनै पनि कर नबुझाएको स्थानीयहरुले दाबी गरेका छन् । तर समानन्तरका सञ्चालक मध्येका एक तीर्थ लामाले भने नियमित बील काट्ने मान्छे घर गएका बेला गल्तीले ४ वटा गाडीको मात्रै अर्कोका रसिद काट्न पुगेको बताउनुभयो ।

स्थानीय भने सञ्चालक लामाको कुरा मान्न तयार छैनन् । सञ्चालक लामा आफै वडा नम्बर १० मा नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य समेत हुन् । गाउँपालिकासँग मिलेमत्तो गरेरै कर छलि गरेको स्थानीयले आरोप लगाएका छन् । सञ्चालक लामाले भने बर्खासँगै क्रसर उद्योग बन्द रहेको र केहिअघि देखि मात्रै सञ्चालनमा ल्याइएको बताउनुभयो । ‘नियमित बील काट्ने मान्छे घर गएको बेला अर्कोले बील काट्दा गल्ती भएको हो, उहाँले भन्नुभयो ‘हाम्रो उद्योग बन्द थियो, केहि समय मात्रै भयो खुलेको ।’

गाउँपालिकाका उपाध्यक्ष एवं राजस्व समितिका संयोजक कल्पना श्रेष्ठले स्थानीयहरुबाट गुनासो आएको भन्दै छानविन गर्ने बताउनुभयो । स्थानीयहरुले निष्पक्ष छानविन गरी दोषिलाई कडा कारबाही गर्न माग गरेका छन् । स्थानीयले सामान्य तय दैनिक ५० मात्रै बालुवा अर्कोको नाम रसिद काटेर पठाउँदा साउनदेखि यता ३० लाख भन्दा बढीको कर छलि भएको बताएका छन् । गाउँपालिकामा रहेको अन्य क्रसर उद्योगमा पालिकाले नै छुट्टै रसिद काट्ने कर्मचारी राखेको छ । तर समानन्तरमा भने अहिलेसम्म गाउँपालिका कर्मचारी राखेको छैन् ।

भुम्लुको वडा नम्बर १, ७, ९ र १० मा गरी ४ वटा क्रसर उद्योग रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी कारोबार गर्ने समानन्तर क्रसर उद्योग नै हो । त्यसपछि वडा नम्बर ९ मा रहेको क्रसर उद्योग हो । वडा नम्बर ९ को क्रसर उद्योगले दुई महिनाको बीचमा ८५ लाख बराबरको कर गाउँपालिकामा बुझाएको छ । त्यस्तै अन्य कम कारोबार हुने क्रसरहरुले पनि गाउँपालिकामा कर दाखिला गसिकेका छन् । तर समानन्तरले भने अहिले सम्म कुनै कर गाउँपालिकामा दाखिला नगरेको उच्च स्रोतले जनाएको छ ।

13770
Shares

ट्रेन्डिङ