सबैको समाचार
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा

एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा

5260
Shares
एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा

काठमाडौं, माघ २६ः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस अबको एक साताभित्र सक्न सरकारी वकिललाई समयसीमा तोकेका छन् । प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडालले बहस गरिरहँदा सो समयसीमा तोकेका हुन् ।

आइतबारको इजलासमा वरिष्ठ अधिवक्ता बडालले बहस गरिरहँदा प्रधानन्यायाधीशले ३० मिनेटमा बहस सक्न भनेका थिए । इजलासमा बडालले त्यति समयले नपुग्ने अडान लिएपछि प्रधानन्यायाधीश जबराले यो साताभित्रै बहस सक्नुपर्ने बताएका हुन् ।

‘तपाईंहरू मात्रै हुनुहुन्न, अरू पनि धेरै जना बहस गर्न बाँकी छन्,’ प्रधानन्यायाधीशले भने, ‘सभामुखका तर्फबाट र सहयोगी विद्वान् (एमिकस क्युरी) हुनुहुन्छ । यो साताभित्र सबैले बहस सिध्याउनुपर्छ ।’

बडालले रिट निवेदकका कानुन व्यवसायीले जति समय लगाएका थिए, त्यति समय आफूहरूलाई चाहिएको जिकिर गरेका थिए । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपस्थित भएकाले पनि समय बढी दिनुपर्ने जोड गरेका थिए ।

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीलगायतका विपक्षीका तर्फबाट सुरुमै वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफ दिएकाले अरूलाई समयसीमा लाग्ने जानकारी दिए । वरिष्ठ अधिवक्ता सुशील पन्तले ओपनिङ हो भनेर दुई दिनसम्म बहस गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा ४ माघदेखि निरन्तर सुनुवाइ भइरहेको छ । जसमा रिट निवेदकका कानुन व्यवसायीबाट करिब ७० जनाले बहस गरेका थिए भने सरकारी कानुन व्यवसायीमा १० जनाभन्दा बढीले बहस गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहसमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वकिलहरूले अहिलेको अवस्थामा अर्को प्रधानमन्त्री नियुक्त गर्ने अवस्था नभएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको १९औं दिनको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गर्न संवैधानिक इजलासमा उभिएका सहन्यायाधिवक्ता उद्धव पुडासैनीले अहिलेको अवस्थामा अर्को प्रधानमन्त्री नियुक्त हुन नसक्ने तर्क राखे ।

आइतबारको सुनुवाइको सुरुमै बहसमा आएका पुडासैनीले भने, ‘प्रधानमन्त्रीले स्वेच्छाले राजीनामा गरेबाहेक अर्को मन्त्रिपरिषद्को बाटो अहिलेको अवस्थामा संविधानले दिएको छैन । यो व्यवस्थाअनुसार सम्पूर्ण कार्यकारी पद प्रधानमन्त्रीको हुन्छ । संसदीय व्यवस्थामा निर्णय लिने अधिकार प्रधानमन्त्रीमा रहेको छ ।’

त्यस्तै उनले अमेरिका र नेपालको संसदीय व्यवस्थाको प्रणालीको विषयको फरक छुट्याउँदै प्रधानमन्त्रीको अधिकार क्षेत्रको विषयमा बहस गरे । ‘अमेरिकामा राष्ट्रपतीय व्यवस्था भएकाले त्यहाँ संसद् विघटनको विषय उठ्न सक्दैन,’ उनले बहसमा भने, ‘नेपालमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने र संविधानले अधिकार नदिएको भए पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ ।’

‘अमेरिकी राष्ट्रपतिलाई संसद् विघटन गर्ने अधिकार हुन्न । तर नेपालमा संसदीय व्यवस्था मानेकाले प्रधानमन्त्रीलाई त्यो अधिकार रहेको छ,’ उनले भने ।

न्यायाधीश अनिल सिन्हाले २०४७ सालको संविधान आएपछि चार पटकसम्म संसद् विघटन र विघटन प्रयास भएको स्मरण गराएका थिए । राजनीतिक अस्थिरता अति भयो भन्ने भएपछि नयाँ संविधान जारी भएको र पटक पटक संविधान ल्याउनुपरेको भन्दै उनले त्यस्तै अवस्था अन्य मुलुकमा थियो कि भनेर प्रश्न गरेका थिए ।

पुडासैनीले दुई वर्ष स्थिर सरकार रहने संविधानले नै परिकल्पना गरेको तर्क प्रस्तुत गरे । साथै उनले राजनीतिक मामिलाका कारण सरकार चल्न नसक्ने अवस्थामा संसद् विघटन हुन सक्ने बताए ।

उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहालवाला प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने व्यवस्था संविधानमा रहेको तर्क प्रस्तुत गरे । अहिलेको व्यवस्थाअनुसार प्रधानमन्त्रीले मात्रै नभई मन्त्रीमण्डलले पनि संसद् विघटन गर्न पाउने अधिकार हुने तर्क राखे ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनसँगै निर्वाचनको सिफारिस गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणासँगै निर्वाचनको मिति पनि घोषणा गरेकाले बदनियत नरहेको पंगेनीले तर्क राखे । ‘संसद् विघटनसँगै निर्वाचनको मिति पनि तय भएको छ । त्यसैले यो निर्णय संविधानको प्रक्रियाभित्रै रहेर गरिएको छ,’ उनले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

5260
Shares

ट्रेन्डिङ