सबैको समाचार
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • भारतीय सहयोगमा निर्माण भए काभ्रेका ६ विद्यालय

भारतीय सहयोगमा निर्माण भए काभ्रेका ६ विद्यालय

7325
Shares
भारतीय सहयोगमा निर्माण भए काभ्रेका ६ विद्यालय

काभ्रे : भारतीय सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाका ६ विद्यालयको पुनर्निर्माण गरिएको छ। भारतको १९ करोड ७० लाख रूपैयाँ सहयोगमा काभ्रेका ६ वटा विद्यालय निर्माण गरिएको हो।

भारतको विदेश मन्त्रालयका सह–सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक क्षेत्र २ बाट प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा, काभ्रेपलाञ्चोक क्षेत्र १ बाट प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले ती सबै स्कुलको बुधबार संयुक्त उद्घाटन गरे।

कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिकाका, पनौती नगरपालिकाका प्रतिनिधिलगायत पनि उपस्थित थिए।

भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुरूप बनेपाको आजाद मावि, पाँचखालका भगवती मावि, आजाद मावि र दुग्धेश्वर मावि, पनौतीको शारदा मावि र चौरी देउरालीको खाँडादेवी माविको निर्माणमा भारतले सहयोग गरेको हो।

यी ६ स्कुलमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। नेपालका ८ जिल्लामा भूकम्पबाट क्षतिग्रस्त शैक्षिक संस्था पुनर्निर्माण गर्न भारतले ५० करोड रूपैयाँभन्दा बढीको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

विद्यालयको उद्घाटनमा श्रीवास्तवले ६ विद्यालय नेपालीको साहस र क्षमता प्रतीक भएको बताए। उनले नेपालको भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको पनि बताए। पुनर्निर्माणमा नेपालको प्रयासमा भारत घनिष्ठ मित्र र छिमेकीको रुपमा नेपालीसँग काँधमा काँध मिलाएर उभिएको उनको भनाइ थियो।

भारतीय सहयोग पाउने ८ जिल्लामा गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं छन्। हालसम्म १४ वटा विद्यालयको निर्माण भइसकेको छ। ५६ विद्यालयमा निर्माण भइरहेको छ।

 

7325
Shares

ट्रेन्डिङ