सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

4160
Shares
घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर वुद्धुजा पुनले बताउनुभयो ।
“नयाँ वर्षको बिदा मनाउन आएका चिनियाँ पर्यटकका कारण बेसिजन भए पनि व्यवसाय राम्रो भएको छ”, घोडेपानीस्थित स्नो भ्यू लजका सञ्चालन पुनले भन्नुभयो – “शुक्रबार हिउँ परेपछि भ्रमणमा आएका पर्यटक उत्साहित भएका छन् ।”
पदमार्गको भ्रमणमा आएका पर्यटक हिउँ खेल्न पाउँदा दङ्ग परेका छन् । घोडेपानीमा रहेका २३ वटा सुविधासम्पन्न होटल चिनियाँ पर्यटकले खचाखच भरिएका छन् । एक सातासम्मका लागि होटल बुक भएका व्यवसायीले बताएका छन् ।
पुनहिल, घोडेपानी, देउराली क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ परेको छ । हिउँ खेल्दै सेताम्मे बनेका डाँडाकाँडाको दृष्यावलोकन गर्न पाउनु थप आकर्षण बनेको छ ।
शनिबार बिहान २०० भन्दा बढी पर्यटक पुनहिल पुगेका थिए । हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बसाइँ थपेका छन् । पोखरालगायतका सहरबाट आन्तरिक पर्यटक पनि हिउँ खेल्न घोडेपानी, पुनहिल पुगेका छन् । पुनहिल सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध छ ।
कास्कीको नयाँपुल, घान्द्रुक र म्याग्दीको भुरुङ तातोपानी हुँदै घोडेपानीमा बास बस्न पुग्ने पर्यटकका लागि पुनहिल प्रमुख गन्तव्य हो । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका करिब २० वटा हिमशृङ्खलाको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ । रासस

4160
Shares

ट्रेन्डिङ