काठमाडौं । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ ।
मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्या भएको थियो । अनुसन्धान गर्दा सामान्य निहुँमै धिमालको हत्या भएको खुलेको हो ।
शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेका १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरूको नाम, ठेगाना सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार उनीहरूले मदिरा पिएका थिए । नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।