काभ्रे । काभ्रेपलाञ्चोक स्थित बेथानचोक गाउँपालिकामा अंग्रेजको आक्रमणबाट उपत्यका बचाउन बनाइएको महत्वपूर्ण गढीको पहिचान भएको छ ।
त्रिवि नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी सहप्रा.डा. सन्ध्या खनाल पराजुलीको नेतृत्वमा भएको अध्ययनबाट सो क्षेत्र उपत्यकामा युद्ध रोक्नका लागि निर्माण गरिएको गढीको पहिचान भएको हो ।
शुक्रबार गाउँपालिकाको वडा नं ५ मा रहेको कपेर महांकाल गढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने इतिहासकार एवं पुरातत्वविद्हरूले यो गढी सामरिक र रणनीतिक रूपमा महत्वपूर्ण रहेको दाबी गरेका छन् ।
यो गढीमा गोरखाली सेना र सेनवंशी सेनाबीच युद्ध भएको र तामाङ सेनाहरू सो युद्धमा सहभागी भएको भेटिएको छ ।
बेथानचोकको वडा नं १, वडा नं ५ र वडा नं ६ बाट दक्षिणतर्फको व्यापारका लागि जाने गरिएको स्थानीय किंवदन्ती र इतिहास भेटिन्छ । पालिकाको वडा नं १ बाट फापरबारी हुँदै गौरपुग्ने बाटो पनि रहेको स्थानीयको भनाइ छ ।