सबैको समाचार
बुधबार, भदौ ३, २०८३

खिर खाएर साउन १५ मनाइँदै

1040
Shares
खिर खाएर साउन १५ मनाइँदै

काठमाडौँ । आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ। 

 वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ ।

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो। 

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ ।

यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । 

दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच  प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।

1040
Shares

ट्रेन्डिङ