सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • भारी वर्षाको सम्भावना : उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन काभ्रेको अनुरोध

भारी वर्षाको सम्भावना : उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन काभ्रेको अनुरोध

720
Shares
भारी वर्षाको सम्भावना : उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन काभ्रेको अनुरोध

काभ्रेपलाञ्चोक । जल तथा मौसम विज्ञान विभागले साउन ४ गतेदेखि बागमती प्रदेशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान जारी गराएको छ ।

साउन ४ गतेदेखि बागमती प्रदेशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना पछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले आइतवार एक सूचना प्रकाशन गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

वर्षासँगै पहिरो, डुबान र नदी–नालामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले विशेषगरी नदी किनार, खोल्सा आसपासका क्षेत्र, भिरालो जमिनमा रहेका बस्ती र पहिरो सम्भावित स्थानहरूमा बसोबास गर्ने स्थानीयवासीहरूलाई सुरक्षित स्थानमा सर्न सक्ने तयारी राख्न सुझाव दिएको छ।

यात्रामा निस्किनुअघि सडकको अवस्था जानकारी लिन, जोखिमयुक्त समयमा अनावश्यक यात्रा नगर्न र सम्भव भएसम्म सुरक्षित साधन तथा वैकल्पिक मार्गको प्रयोग गर्न पनि आग्रह गरिएको छ। प्रशासनले उल्लेख गरेअनुसार निरन्तर वर्षाले खोलानालाहरूको बहाव बढ्न सक्ने र सडक तथा भौतिक पूर्वाधारमा असर पुग्ने सम्भावना छ।

यसका साथै, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायी, ट्राफिक प्रहरी, यात्रुहरू तथा नदी किनारमा बसोबास गर्ने वासिन्दाहरूले अझ बढी सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रशासनको सूचनामा भनिएको छ, “आज रातिदेखि जोखिमा परेका स्थानहरूमा सम्भावित जोखिम थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरू सतर्क रहनु अत्यावश्यक छ। सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त स्थानमा स्थानान्तरणको आवश्यकता पर्न सक्छ।”

विपद् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहनुपर्ने, र संभावित जोखिमबाट जोगिन पूर्वतयारी र सूचनाको प्रवाहमा सक्रियता जरुरी भएको जनाउँदै प्रशासनले थप जोखिम देखिएमा थप सूचना जारी गरिने समेत जनाएको छ।

720
Shares

ट्रेन्डिङ