सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • बनेपाको गोसाइँस्थानमा विशेष मेला, १ लाख भन्दा धेरै सहभागी ( फोटो फिचर )

बनेपाको गोसाइँस्थानमा विशेष मेला, १ लाख भन्दा धेरै सहभागी ( फोटो फिचर )

735
Shares
बनेपाको गोसाइँस्थानमा विशेष मेला, १ लाख भन्दा धेरै सहभागी ( फोटो फिचर )

काभ्रेपलाञ्चोक । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर विधिपूर्वक मनाइँदै छ।

वैदिक सनातन परम्परा अनुसार बिहानैदेखि नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको जनै र रक्षासूत्र (डोरो) धारण गर्ने प्रचलन रहेको छ। धार्मिक विश्वास अनुसार यसरी धारण गरिएको जनै र रक्षासूत्रले नकारात्मक शक्ति र अनिष्टबाट सुरक्षा प्रदान गर्ने आत्मविश्वासका साथ हिन्दु धर्मावलम्बीहरूले आज लगाउने गर्दछन्।

यस अवसरमा काभ्रेको बनेपा नगरपालिका–६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल गोसाइँस्थानमा पनि आज विशेष मेला लागेको छ। यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। गोसाइँस्थानस्थित गोसाइँकुण्ड र शिव मन्दिरमा बिहानैदेखि पूजाआजा, दर्शन तथा स्नान गर्नेहरूको घुइँचो लागेको हो।

मेलामा काभ्रेका विभिन्न स्थानका साथै काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन्। रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने तीर्थालुहरू बनेपाको गोसाइँस्थानमा आएर पूजाआजा, दर्शन र धार्मिक अनुष्ठानमा सहभागी हुने गर्छन्।

मेलामा ब्राह्मणको हातबाट जनै धारण गर्ने, रक्षाबन्धन बाँध्ने, ऋषि तर्पण गर्ने तथा धार्मिक कथा–वाचन सुन्ने गतिविधि भएको हो। यता मेला व्यवस्थापनका लागि बनाइएको समितिको आधारमा आज दिउँसोसम्म मेला भर्ने संख्या एक लाख भएको व्यवस्थापन समितिका अध्यक्ष विष्णु नारायण श्रेष्ठले बताउनु भयो।

केही वर्षयता यस स्थानलाई नैमिशारण्य क्षेत्रका रूपमा विकास गरिएकाले टाढा–टाढाबाट आउने तीर्थालुको संख्या बढ्दै गएको छ। हरियालीले भरिएको जंगलको बीच भागमा अवस्थित यो गोसाइँकुण्डबारे एक रोचक किंवदन्ती पनि छ।

गोसाइँकुण्ड जाने बेला भगवान महादेवको पहिलो पाइला यहाँ परेको किंवदन्तीसँगै यहाँ बृहत मेला लाग्ने गरेको छ। बुडोलस्थित गोसाइँस्थानलाई रसुवाको गोसाइँकुण्डको सहायक तीर्थका रूपमा मान्दै मेला भर्ने, स्नान गर्ने र जल अर्पण गर्ने परम्परा चल्दै आएको नैमिषारण्य गुरुकुलका प्रमुख प्रधानाचार्य दिब्य मणी अधिकारीले बताउनु भयो। अधिकारीका अनुसार गोसाइँस्थानमा सञ्चालित गुरुकुलमा अहिले आवास सुविधा सहित अध्ययन हुँदै आएको छ।

735
Shares

ट्रेन्डिङ