सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • बनेपामा ११ हजार कन्या पुजिए, १२३ वर्ष पुरानो परम्पराको भव्यताका साथ सम्पन्न

बनेपामा ११ हजार कन्या पुजिए, १२३ वर्ष पुरानो परम्पराको भव्यताका साथ सम्पन्न

७ हजार भन्दा धेरै अविवाहित कन्याहरूलाई देवी स्वरूप मानी पूजिएको छ

585
Shares
बनेपामा ११ हजार कन्या पुजिए, १२३ वर्ष पुरानो परम्पराको भव्यताका साथ सम्पन्न

काभ्रेपलाञ्चोक । कृष्ण जन्माष्टमीको अवसरमा बनेपामा १२३ वर्षदेखि निरन्तरता पाइरहेको ऐतिहासिक कन्या पूजामा यस वर्ष ७ हजार भन्दा धेरै अविवाहित कन्याहरूलाई देवी स्वरूप मानी पूजिएको छ।

बनेपा नगरपालिका-९ को भोलाखाटोलबाट सुरु भएको पूजामा ३२ हजारभन्दा बढी स्वारी र सामग्रीसहित सजिएका कन्याहरूलाई टीका, जनै (काँचो धागो) र पूजापछि मालपुवा, बिस्कुट, चकलेट, चाउचाउ, फ्रुटी र दक्षिणासहित प्रसाद वितरण गरिएको सनातन कन्या पूजा प्रवन्ध समितिले जनाएको छ। समितिका सचिव प्रकाश कायस्थका अनुसार करिब ३२ हजार स्वारीसहितका सामग्रीहरू करिब ८ हजार कन्याका लागि तयारी गरिएको थियो, जसलाई समितिका सदस्य र स्थानीय स्वयंसेवकले वितरण गरेका छन्।

यो पूजाको सुरुवात १२३ वर्षअघि बाजेबराजुले गरेका थिए। अहिले यो परम्परा नेपालकै नमुना कार्यक्रमका रूपमा चिनिन्छ। समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार ” बाजे बराजुबाट थालनी गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि निरन्तरता दिने अभियान चलाएका छौँ।”

कन्या पूजामा अविवाहित, रजस्वला नभएका र बेल विवाह नगरेका कन्यालाई देवी स्वरूप मानिन्छ। धार्मिक विश्वासअनुसार कन्याको पूजाले सु–स्वास्थ्य, सुखमंगल, समृद्धि र आशीर्वाद प्राप्त हुन्छ। धेरैले यो पूजालाई आत्मसन्तुष्टि र इच्छा पूरा हुने संस्कारका रूपमा लिन्छन्।

भोलाखाटोलको गणेश मन्दिरमा पूजापछि वैद्यको घरबाट निस्किएको पूजासामग्रीसहित बृहत यात्रा सुरु हुन्छ। बाटो भोलाखाटोल, स्वधाटोल, वकुटोल हुँदै दक्षुटोलसम्म पुग्छ। बाटोमा सडकको पेटीमा बसिरहेका कन्याहरूलाई पूजेर, टीका र जनै लगाइन्छ। पूजापछि सामग्री र दक्षिणा दिइन्छ। प्रति कन्या करिब ५०० रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइन्छ, जसमा प्रसादसँगै मिठाई र खानेकुरा समावेश हुन्छ। पूजाको अन्त्य लायकु ध्वाखामा गरिन्छ।

यस वर्षको पूजामा बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठक र बाग्मती प्रदेश सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेको समेत सहभागिता रहेको थियो।

कृष्ण जन्माष्टमीको अवसरमा बनेपामात्र होइन, धुलिखेल, पनौती, पाँचखाल, साँगा, बुडोल, नाला, चौकोट, धनेश्वरलगायतका स्थानमा पनि कन्या पूजा आयोजना गरिएको छ। पूजाको खर्च समितिमा जम्मा भएको रकमको ब्याज र दाताले दिएको सहयोगबाट व्यवस्थापन गरिन्छ। समितिमा अध्यक्ष रामगोपाल कायस्थ, उपाध्यक्ष सुरकृष्ण वैद्य, सचिव प्रकाश कायस्थ, कोषाध्यक्ष दिनेश कायस्थसहित १२ सदस्यीय टोली कन्या पुजा सम्पन्न गर्न सक्रिय रहेको छ ।

दछुटोलमा आयोजना भएको कन्या पुजामा दुई दिन अघि नै ३ हजार कन्या पुजिएका थिए । आज पुजिनेको सङ्ख्या जोड्दा ११ हजार भन्दा धेरै कन्या बनेपामा मात्र पुजिएका छन । भने जिल्ला भर कन्या पुजिएको छ ।

585
Shares

ट्रेन्डिङ