काभ्रे :- जिल्लाको वेथान्चोक गाउँपालिका र ग्रामीण विकास संस्था तथा ईआईएनको संयुक्त आयोजनामा पालिकाभरका १० विद्यालयका विद्यार्थीको सहभागितामा “बालबालिकासँग गाउँपालिका अध्यक्ष” कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबारे जानकारी गराउने, आगामी योजना तय गर्न सहजता प्रदान गर्ने, सूचनाको हकबारे बुझाउने तथा विद्यार्थीलाई स्थानीय शासन स्वरूप र सरकारबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका सहजकर्ता ग्रामीण विकास संस्थाका डी.एम. तिमल्सिना र सञ्चारकर्मी शुभराज अधिकारी रहनु भएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले भौतिक विकासदेखि जीवन उपयोगी शिक्षा, शिक्षामा प्रविधिको प्रयोगको अवसर नपाएको अवस्था, दिवा खाजाको सहजता, अभिभावकविहीन तथा विपन्न विद्यार्थीका लागि अनिवार्य तथा निःशुल्क शिक्षा, पारिवारिक तथा सामाजिक समस्या भएका विद्यार्थीको शिक्षा सुनिश्चित गर्न पालिकाले के गरिरहेको छ ? भन्ने प्रश्न गाउँपालिका अध्यक्षसमक्ष राखेका थिए।
विद्यार्थीका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विद्यार्थीले उठाएका विषयअनुसार शैक्षिक सुधार, स्कुल बस व्यवस्थापन तथा भौतिक विकासलगायतका क्षेत्रमा पालिकाले निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले वेथान्चोक गाउँपालिकालाई पहिले नै निःशुल्क तथा अनिवार्य शिक्षा लागू भएको पालिका घोषणा गरिसकेको बताउँदै, शिक्षाको समग्र विकासका लागि घुम्ती शिक्षकदेखि सामाजिक संस्थासँगको सहकार्य र भौतिक पूर्वाधार निर्माणसमेत गरिएको उल्लेख गर्नुभयो।

अध्यक्ष अधिकारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने, आवश्यक सुधार गर्ने र आगामी नीतिमा बालबालिकाको सुझावअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष अधिकारीका अनुसार शिक्षामा मात्र प्रत्येक आर्थिक वर्षमा पालिकाले तलब–भत्ता सहित २२ करोड रुपैयाँभन्दा बढी रकम सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा शैक्षिक विकासमा खर्च गर्दै आएको छ।